पहाडका ९ जिल्लामा सीडीओको तह घटाइयो

1.2k Shares

सहसचिवको दरबन्दी कटौती भएसँगै पहाडी क्षेत्रका ९ जिल्लामा अब उपसचिव तहका कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाइने भएको छ।

सरकारले जिल्ला प्रशासन कार्यालयमा रहेको सहसचिव तहको दरबन्दी पुनरावलोकन गर्दै ती जिल्लामा उपसचिव तहको दरबन्दी कायम गर्ने निर्णय गरेको हो। यससँगै ती जिल्लामा कार्यरत वा नयाँ नियुक्त हुने सीडीओ उपसचिव तहका हुनेछन्।

दरबन्दी पुनर्संरचनाको निर्णयसँगै प्रशासनिक संरचनामा समेत परिवर्तन हुने भएको छ। विशेषगरी कम जनसंख्या, सीमित प्रशासनिक कामको चाप तथा जिल्लाको कार्यबोझलाई आधार बनाएर सहसचिवको दरबन्दी आवश्यक नरहेको निष्कर्ष निकालिएको बताइएको छ।

सरकारले संघीय प्रशासनिक संरचनालाई थप व्यवस्थित, चुस्त र आवश्यकताअनुसार बनाउन विभिन्न जिल्लाका सरकारी कार्यालयमा रहेका दरबन्दी पुनरावलोकन गर्दै आएको छ। सोही क्रममा पहाडका ९ जिल्लामा सीडीओको तह घटाइएको हो।

उपसचिव सीडीओ हुने जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयको दैनिक प्रशासन, शान्ति–सुरक्षा, विपद् व्यवस्थापन, नागरिकता तथा राहदानीलगायतका सेवा सञ्चालन भने यथावत् रहनेछन्। सीडीओको पदस्थापन र जिम्मेवारीमा भने अब उपसचिव तहका कर्मचारी रहनेछन्।

दरबन्दी कटौतीले सरकारी खर्च घटाउने तथा कर्मचारी व्यवस्थापनलाई कार्यबोझअनुसार मिलाउने सरकारको उद्देश्य रहेको बताइएको छ। यद्यपि, दुर्गम तथा भौगोलिक रूपमा चुनौतीपूर्ण जिल्लामा प्रशासनिक नेतृत्वको तह घटाउँदा सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा त्यसको प्रभाव कस्तो पर्छ भन्ने विषयमा पनि चासो बढेको छ।

 
 
 
 
सम्बन्धित समाचार