काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेको छ।
काठमाडौं प्रहरी परिसरका एसएसपी दिलीप घिमिरेका अनुसार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा उजुरी परेको हो। उनका अनुसार अहिलेसम्म एउटा मात्रै उजुरी परेको छ।
उजुरी केही दिनअघि श्रेष्ठको सञ्चारमाध्यममा प्रकाशित भएको एउटा तस्बिरसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।
यसअघि सार्वजनिक भएका केही विवरणमा साइबर अपराधसम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको उल्लेख भए पनि प्रहरीको पछिल्लो विवरणअनुसार अनुसन्धान वैयक्तिक गोपनीयताको विषयमा केन्द्रित रहेको देखिन्छ।
श्रेष्ठ हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। प्रहरीले उनलाई बिहीबार अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ। त्यसपछि अदालतबाट अनुसन्धानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढ्नेछ।