काठमाडौं । प्रेस सेन्टर नेपालले आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेको छ। श्रेष्ठलाई रिहा नगरे चरणबद्ध आन्दोलन थाल्ने चेतावनी पनि सेन्टरले दिएको छ।
सेन्टरले विज्ञप्ति जारी गर्दै श्रेष्ठको पक्राउ, निवास तथा कार्यालयमा प्रहरीले गरेको छापा र सञ्चार सामग्री जफतप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
पत्रकारलाई पक्राउ गर्ने, सञ्चार गृहमा छापा मार्ने तथा समाचार उत्पादन र प्रकाशनका लागि प्रयोग हुने कम्प्युटर जफत गर्ने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको सेन्टरको ठहर छ।
विशेषगरी पत्रकारको सूचनाको स्रोत र सञ्चार सामग्रीमा अनधिकृत पहुँच कायम गर्ने उद्देश्यले उपकरण जफत गर्नुले स्रोत संरक्षणको संवैधानिक अधिकार तथा पत्रकारिताका स्थापित मान्यतामाथि गम्भीर प्रश्न उठाएको सेन्टरले जनाएको छ।
यस्ता गतिविधिले पत्रकारलाई स्वतन्त्र, निर्भीक र खोजमूलक पत्रकारिता गर्न हतोत्साहित गर्नुका साथै प्रेसलाई भय र दबाबमा राख्ने अवस्था सिर्जना गर्न सक्ने सेन्टरको भनाइ छ।
सेन्टरले श्रेष्ठलाई तत्काल रिहा गरी उनलाई निर्वाध रूपमा पत्रकारिता गर्ने वातावरण सुनिश्चित गर्न सरकार, गृह प्रशासन तथा सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्षसमेत हुन्। उनको पक्राउ तथा सञ्चारगृहमा भएको छापाको विषयमा विभिन्न पत्रकार संगठनहरूले विरोध जनाउँदै आएका छन्।