सर्वोच्चको फैसलापछि कांग्रेस फेरि एक हुने देउवाको विश्वास
1.3k
Shares
३० साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको बताएका छन्। उनले सर्वोच्च अदालतबाट न्यायिक निरूपण भएपछि कांग्रेसमा पुनः एकता कायम हुने विश्वास व्यक्त गरेका छन्।
शनिबार महाराजगञ्जस्थित निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले सम्पूर्ण रूपमा पार्टी एकता हुनुपर्ने आफ्नो धारणा रहेको बताए। विशेष महाधिवेशन आफूले स्वीकार नगरेको उल्लेख गर्दै उनले त्यसविरुद्ध आफूहरूले कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिए।
देउवाले भने, ‘विशेष अधिवेशनको पक्षमा म थिइनँ, मैले मानेको पनि होइन।’ सर्वोच्च अदालतमा पुनरावलोकनको विषय विचाराधीन रहेकाले अहिले धेरै बोल्न आवश्यक नरहेको उनको भनाइ थियो। अदालतबाट न्याय मिल्ने र त्यसपछि पार्टी एकताबद्ध हुनेमा आफू विश्वस्त रहेको उनले बताए।
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकताबारे विवाद चलिरहेका बेला सर्वोच्च अदालतले यसअघि विशेष महाधिवेशन र त्यसबाट चयन भएको नेतृत्वलाई मान्यता दिएको थियो। देउवा पक्षले उक्त फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिएपछि सर्वोच्चले पुनरावलोकनका लागि निस्सा प्रदान गरेको छ।
देउवाले लोकतन्त्रका लागि स्वतन्त्र पत्रकारिता अत्यावश्यक रहेको पनि बताए। प्रेसले कुनै व्यक्तिको पक्ष वा विपक्षमा नभई निष्पक्ष रूपमा काम गर्नुपर्ने उनको भनाइ थियो।
पाँच महिनापछि नेपाल फर्किएका देउवाले आफू सुदूरपश्चिम र विशेषगरी डडेलधुरा जान इच्छुक रहेको पनि बताए। सुदूरपश्चिमले आफूलाई धेरै माया र समर्थन दिएको उल्लेख गर्दै उनले त्यस क्षेत्रका लागि गर्न बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाए।