काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमण फेरि सरेको छ। यसअघि अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण अब सेप्टेम्बरको दोस्रो साताका लागि तय गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। आन्तरिक तयारीलगायतका कारण भ्रमणको मिति पछाडि सारिएको बताइएको छ।
भ्रमणका क्रममा लामिछानेले तिब्बतस्थित मानसरोवर पुग्ने कार्यक्रमसमेत बनाइएको एक उच्च सरकारी अधिकारीले बताएका छन्। यसअघि उनको भ्रमण तालिकामा मानसरोवर समावेश हुने वा नहुने स्पष्ट थिएन।
चीन भ्रमणका क्रममा लामिछानेले चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी छ। यद्यपि, चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भने भेटवार्ता नहुने स्रोतको दाबी छ। यसअघि लामिछानेको सीसँग भेट गराउने प्रयास भइरहेको समाचार सार्वजनिक भएको थियो।
भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका लामिछानेले चीनमा पनि त्यस्तै प्रकृतिको उच्चस्तरीय राजनीतिक भेटवार्ताको वातावरण बनाउन पहल गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
रास्वपाको चीन भ्रमणलाई दुई देशका राजनीतिक दलबीचको सम्बन्ध विस्तार, द्विपक्षीय सहकार्य तथा समसामयिक क्षेत्रीय विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ। यसअघि पनि लामिछानेको चीन भ्रमणको मिति पटक–पटक परिवर्तन भएको थियो।