धनकुटाको साँगुरीगढी गाउँपालिकाका विभिन्न बस्ती पहिरोको उच्च जोखिममा परेका छन्। लगातारको वर्षाका कारण जमिन कमजोर बन्दै गएपछि गाउँपालिकाका करिब १२० परिवार जोखिममा परेका हुन्।
वर्षाका कारण ग्रामीण सडक तथा आसपासका क्षेत्रमा पहिरो जाने क्रम बढेको छ। कतिपय स्थानमा सडक अवरुद्ध हुनुका साथै घर तथा बस्ती आसपासको जमिन चर्किन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ।
जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा गाउँपालिका, स्थानीय प्रशासन तथा सुरक्षा निकायबीच समन्वय भइरहेको छ। सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि जोखिमयुक्त क्षेत्रको निगरानी बढाइएको जनाइएको छ।
स्थानीय तहले पहिरोको जोखिममा रहेका परिवारलाई सतर्क रहन, सुरक्षित स्थानमा बस्न तथा समस्या देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।
लगातार वर्षा भइरहेकाले थप पहिरो तथा बाढीको जोखिम हुन सक्ने भन्दै स्थानीयवासीलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।