राप्रपाबाट एमाले हुँदै बागमतीको मुख्यमन्त्री बने किरण थापा मगर

1.2k Shares

भक्तपुरका किरण थापा मगर बागमती प्रदेशको सातौँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेता उद्धव थापाको समर्थनमा उनलाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

थापाले राजनीतिक यात्रा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुरु गरेका थिए। २०५३ सालमा २० वर्षको उमेरमै राप्रपाको गाउँ कमिटी अध्यक्ष बनेर सक्रिय राजनीतिमा प्रवेश गरेका उनी २०७१ पुसमा नेकपा एमालेमा प्रवेश गरेका थिए।

एमालेमा प्रवेश गरेपछि जिल्ला कमिटी सदस्य हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेका थापा २०७४ सालको स्थानीय तह निर्वाचनमा सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्ष निर्वाचित भए। त्यसपछि २०७९ सालमा भक्तपुर–२(क) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनी बागमती प्रदेश सरकारमा दुई पटक स्वास्थ्य मन्त्रीसमेत बने।

एमाले सचिव तथा बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतसँग निकट सम्बन्ध रहेका थापा एमाले प्रवेश गरेको करिब १२ वर्षमै मुख्यमन्त्री बन्न सफल भएका हुन्। मुख्यमन्त्री बन्ने क्रममा भने राप्रपाका संसदीय दलका नेता उद्धव थापाको समर्थन निर्णायक बनेको थियो। उनलाई समर्थन गरेपछि राप्रपाले उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।

राजनीतिसँगै व्यवसायमा समेत सक्रिय थापा कुखुरापालनदेखि दाना उद्योग, निर्माण तथा मनोरञ्जन क्षेत्रसम्म संलग्न रहेको समाचारमा उल्लेख छ। सूर्यविनायक उद्योग वाणिज्य संघको अध्यक्ष तथा विभिन्न सामाजिक संघसंस्थामा समेत उनले जिम्मेवारी सम्हालेका थिए।

 
 
सम्बन्धित समाचार