काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणलाई लिएर सामाजिक सञ्जालमा भइरहेको चर्चाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
शाहीका अनुसार प्रधानमन्त्री शाह मुस्ताङस्थित खम्पा गुम्बा दर्शनका लागि निजी भ्रमणमा गएका हुन्। व्यक्तिगत भ्रमणका क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी साथमा लिएर हिँड्नुपर्ने आवश्यकता नरहेको उनको तर्क छ।
प्रधानमन्त्री शाह बिहानै काठमाडौं छाडेर मुस्ताङतर्फ गएको बताइएको छ। उनको भ्रमणबारे सुरक्षा निकायसमेत अनभिज्ञ रहेको चर्चा भइरहेका बेला शाहीले प्रधानमन्त्रीको निजी जीवन र व्यक्तिगत समयलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन्।
शाहीले प्रधानमन्त्री निजी भ्रमणमा रहँदा सुरक्षाकर्मीको ठूलो समूहसहित हिँड्नैपर्ने बाध्यता नरहेको बताएका छन्। उनका अनुसार प्रधानमन्त्रीलाई व्यक्तिगत समय बिताउने क्रममा स्वतन्त्र रूपमा हिँडडुल गर्न दिनुपर्छ।
हरेक विषयलाई राजनीतिक रंग दिएर विवाद र हल्लाको विषय बनाउन आवश्यक नरहेको शाहीको भनाइ छ। प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई आफूले व्यक्तिगत तथा धार्मिक भ्रमणका रूपमा बुझेको उनले बताएका छन्।