काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं उपत्यकाका १५ वटा सरकारी कार्यालयमा अनुगमन गर्दै सेवा प्रवाह सुधार गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको केन्द्रले शुक्रबार काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न सरकारी कार्यालयमा अनुगमन गरेको हो । अनुगमनका क्रममा सेवा प्रवाह, कर्मचारीको समयपालना, तोकिएको पोसाक तथा आचरणको अवस्थाबारे निरीक्षण गरिएको थियो ।
अनुगमन गरिएका कार्यालयमा यातायात व्यवस्था कार्यालय एकान्तकुना र जडीबुटी, जिल्ला खेलकुद विकास समिति भक्तपुर र ललितपुर, काठमाडौं महानगरपालिकाका वडा नम्बर ७ र ८ का कार्यालय, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय सानोठिमी, मनोहरा जग्गा एकीकरण आयोजना, आन्तरिक राजस्व कार्यालय कोटेश्वर, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, नेपाल गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र, आन्तरिक राजस्व कार्यालय बालाजु र काठमाडौं दुग्ध वितरण आयोजना छन् ।
केन्द्रले केही कार्यालयका कर्मचारी तोकिएको समयमा उपस्थित नभएको र कतिपयले निर्धारित पोसाकसमेत नलगाएको पाइएको जनाएको छ । त्यस्ता कार्यालयलाई प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरी त्यसको जानकारी केन्द्रलाई गराउन निर्देशन दिइएको छ ।
काठमाडौं महानगरपालिकाका वडा नम्बर ७ र ८ का कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी तथा जनमैत्री बनाउन निर्देशन दिइएको छ । रामघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई सेवा सम्बन्धी प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न भनिएको छ ।
त्यस्तै, मनोहरा जग्गा एकीकरण आयोजनालाई अनिवार्य रूपमा नागरिक बडापत्र राख्न तथा सहयात्री समितिको बैठक बस्न निर्देशन दिइएको छ । जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रलाई समेत आवश्यक कारबाही गरी केन्द्रलाई जानकारी गराउन भनिएको छ । काठमाडौं दुग्ध वितरण आयोजनालाई कर्मचारीको उपस्थिति व्यवस्थित बनाउन ई–हाजिरी प्रणाली जडान गर्न निर्देशन दिइएको छ ।
सरकारी सेवा प्रवाहलाई प्रभावकारी, अनुशासित र नागरिकमैत्री बनाउन नियमित अनुगमनलाई निरन्तरता दिइने केन्द्रले जनाएको छ । सरकारी निकायमा भ्रष्टाचार, कर्मचारीले आचारसंहिता उल्लङ्घन गरेको वा शङ्कास्पद सम्पत्तिसम्बन्धी सूचना भए केन्द्रको हटलाइनमा जानकारी गराउन सकिने जनाएको छ ।