काठमाडौं । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका लागि चार जना अनुसन्धानकर्तालाई ‘प्रदीप गिरि स्मृति फेलोसिप’ प्रदान गर्ने घोषणा गरेको छ।
स्वर्गीय नेता प्रदीप गिरिको चौथो स्मृति दिवसका अवसरमा शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाले फेलोसिप घोषणा गरेका हुन्।
सभापति थापाका अनुसार फेलोसिप चार प्रमुख क्षेत्रमा प्रदान गरिनेछ। पहिलो नेपाली राजनीति, गणतन्त्र र संघीयता, दोस्रो समावेशिता र सामाजिक न्याय, तेस्रो साहित्य, दर्शन र विचारको इतिहास तथा चौथो युवा नेतृत्व, नागरिक शिक्षा र लोकतान्त्रिक नवप्रवर्द्धन रहेका छन्।
थापाले प्रदीप गिरिलाई सम्झनु भनेको उनका विचारलाई मात्र स्मरण गर्नु नभई उनले जीवनभर अघि सारेका अध्ययन, प्रश्न, विचार र सामाजिक न्यायका विषयलाई निरन्तरता दिनु पनि भएको बताए।
उनका अनुसार कुनै विचारकप्रति सबैभन्दा सार्थक श्रद्धाञ्जली उनका विचारलाई स्मारकमा मात्र सीमित गर्नु नभई नयाँ पुस्तालाई ती विचारसँग संवाद गर्ने, प्रश्न गर्ने र त्यसलाई अझ अगाडि बढाउने अवसर सिर्जना गर्नु हो। यही उद्देश्यका साथ ‘प्रदीप गिरि स्मृति फेलोसिप’ सुरु गरिएको सभापति थापाले बताए।
कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदीप गिरिलाई ‘विचारको विश्वविद्यालय’का रूपमा स्मरण गरे। कांग्रेसले फेलोसिपमार्फत नयाँ पुस्ताका अनुसन्धानकर्ता तथा अध्येतालाई अध्ययन, अनुसन्धान र लेखनमा प्रोत्साहन गर्ने लक्ष्य लिएको जनाएको छ।