नारायणगढ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिक सुरक्षालाई प्राथमिकतामा राख्दै मातहतका निकायलाई थप प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय, भण्डाराको नवौँ स्थापना दिवसका अवसरमा राप्ती नगरपालिका–६, भण्डारामा शनिबार आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले बदलिँदो सुरक्षा चुनौतीअनुसार कार्यसम्पादनलाई व्यावसायिक, चुस्त र परिणाममुखी बनाउन निर्देशन दिनुभएको हो।
उहाँले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सीमा सुरक्षाको महत्वपूर्ण साझेदारका रूपमा लिएर काम गर्नुपर्ने बताउनुभयो। सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक नै सीमा सुरक्षाका पहिलो पहरेदार भएकाले उनीहरूसँग सहकार्य गरेर सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो।
पछिल्लो समय उत्तरी सीमातर्फ विभिन्न विषय उठिरहेको उल्लेख गर्दै महानिरीक्षक पौडेलले सुशासन, आर्थिक अनुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शितामार्फत जनताको सुरक्षा तथा सेवाप्रवाह प्रभावकारी बनाउने सरकारको नीतिअनुसार सशस्त्र प्रहरीले जनअपेक्षा पूरा गर्न प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो।
उहाँले नागरिकमैत्री सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै बदलिँदो सुरक्षा चुनौतीको निरन्तर मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो। सुरक्षा निकायले आफ्नो जिम्मेवारी निर्वाह गर्दा व्यावसायिकता, तत्परता र उत्तरदायित्वलाई विशेष महत्व दिनुपर्ने उहाँको भनाइ थियो।
महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा घटना भएपछि मात्र सक्रिय हुनेभन्दा विपद् आउनुअघि नै आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो।
सम्बन्धित निकायबीच प्रभावकारी सञ्चार र समन्वय कायम गर्न सके विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिने भएकाले पूर्वतयारीलाई प्राथमिकतामा राख्न उहाँले निर्देशन दिनुभयो।
सशस्त्र प्रहरीले राजमार्ग सुरक्षा तथा विभिन्न विपद् र घटनामा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि नागरिकको जीउधनको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो।
महानिरीक्षक पौडेलले पछिल्लो समय जातीय, धार्मिक तथा साम्प्रदायिक आन्दोलनका कारण सुरक्षा क्षेत्रमा थप चुनौती सिर्जना हुन सक्ने बताउनुभयो।
यस्ता गतिविधिले सामाजिक एकता कमजोर पार्दै विखण्डनको अवस्था सिर्जना गर्न सक्ने भएकाले सुरक्षा निकाय थप सजग, संयमित र प्रभावकारी रूपमा परिचालित हुनुपर्ने उहाँको भनाइ थियो।
उहाँले सुरक्षा कुनै एक निकाय वा संस्थाको प्रयासबाट मात्र सुनिश्चित नहुने स्पष्ट पार्दै सबै सरोकारवाला निकायको सामूहिक प्रतिबद्धता र इमानदार प्रयासबाट मात्रै प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न सकिने बताउनुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक किरणबहादुर बस्नेतले शून्य सहनशीलताको नीतिअनुसार कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनताको जीउधनको सुरक्षा, विपद् व्यवस्थापन तथा प्रतिकार्यमा सशस्त्र प्रहरी अग्रपङ्क्तिमा रहेर काम गर्दै आएको बताउनुभयो।
कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले राष्ट्रका लागि सशस्त्र प्रहरीले पुर्याउँदै आएको योगदानको उचित मूल्याङ्कन हुनुपर्ने बताउनुभयो। सुरक्षा निकायको आत्मबल बढाउने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। बागमती प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव मनीष भट्टराईले बाहिनीको स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभयो।
स्थापना दिवसकै अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो। साथै विभिन्न समयमा सहयोग पुर्याउने दाता तथा उत्कृष्ट सशस्त्र प्रहरी अधिकृत र जवानलाई सम्मान गरिएको थियो।