कोशीमा सत्ता यात्राको तयारीमा श्रम संस्कृति, सुदन किरातीलाई मुख्यमन्त्री बनाउने लक्ष्य

1.2k Shares

काठमाडौं । स्थापनाको चार महिनामै राष्ट्रिय दल बन्न सफल श्रम संस्कृति पार्टीले कोशी प्रदेशलाई आफ्नो आधार क्षेत्र बनाएर आगामी निर्वाचनको तयारी तीव्र पारेको छ।

पार्टीले अध्यक्ष हर्क साम्पाङलाई प्रधानमन्त्री र वरिष्ठ नेता सुदन किरातीलाई कोशी प्रदेशको मुख्यमन्त्री बनाउने लक्ष्यसहित संगठन विस्तार तथा चुनावी गतिविधिलाई अगाडि बढाएको छ।

श्रम संस्कृति पार्टीले कोशीमा ‘केचना–सगरमाथा हातेमालो’ अभियान सुरु गरेको छ। धरानमा भदौ १ देखि ३ गतेसम्म बसेको प्रदेश कार्यसमितिको बैठकले संगठन निर्माणलाई प्राथमिकता दिँदै अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

sudan hark.png

प्रदेश अध्यक्ष प्रतापका अनुसार पार्टीको श्रमदान अभियानलाई निरन्तरता दिँदै त्यसमा संगठन निर्माणलाई समेत जोड्न ‘हातेमालो अभियान’ सुरु गरिएको हो। पार्टी नेतृत्वले भने यो अभियानलाई हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्यसँग जोडेको छ।

वरिष्ठ नेता सुदन किरातीले आगामी संसदीय निर्वाचनबाट श्रम संस्कृति पार्टी देशकै ठूलो दल बन्ने र हर्क साम्पाङ प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। कोशी प्रदेशमा पार्टीको प्रभाव तुलनात्मक रूपमा बलियो रहेको भन्दै श्रम संस्कृतिले आगामी प्रदेश सरकार निर्माणलाई समेत प्राथमिकतामा राखेको छ। पार्टीले पूर्वमन्त्री सुदन किरातीलाई भावी मुख्यमन्त्रीका रूपमा अघि सारेको छ।

किराती वैशाख २५ गते श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि कोशी प्रदेश केन्द्रित गतिविधिमा सक्रिय छन्। यस अवधिमा उनले सोलुखुम्बु, ओखलढुंगा र संखुवासभाबाहेक कोशी प्रदेशका ११ जिल्लाको भ्रमण गरिसकेको अनलाइनखबरले जनाएको छ।

पार्टीले निर्वाचन क्षेत्रअनुसार आफ्नो संगठनात्मक अवस्था, जनमत र प्रतिस्पर्धी दलहरूको प्रभावबारे अध्ययनसमेत गरिरहेको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भावित चुनावी रणनीति र कमजोरीबारे अध्ययन भइरहेको पार्टी स्रोतले जनाएको छ।

Sram-abhiyan-3-1024x578.jpg

कोशीमा रास्वपा प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बनेको थियो। त्यसपछि श्रम संस्कृति पार्टी दोस्रो स्थानमा रहेको तथ्यलाई आधार बनाएर आगामी प्रदेश तथा स्थानीय निर्वाचनमा रास्वपालाई उछिन्ने दाबी श्रम संस्कृतिले गरिरहेको छ।

पार्टी प्रवेशमा लचकता

कोशी प्रदेश कार्यसमितिको बैठकले अन्य दलबाट आउने नेताकार्यकर्तालाई पार्टीमा समेट्न लचकता अपनाउने निर्णयसमेत गरेको छ। पुरानो पार्टीमा रहेको जिम्मेवारीअनुसार नै श्रम संस्कृति पार्टीमा पनि भूमिका दिन सकिने प्रदेश अध्यक्षको भनाइ छ।

पार्टी नेतृत्वले संगठन विस्तारका लागि यस्तो निर्णय गरिएको जनाएको छ। पुराना दलप्रति असन्तुष्ट रहेका नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा आउन इच्छुक रहेको दाबी नेताहरूले गरेका छन्।

श्रम संस्कृति पार्टीले अहिलेको ‘कोशी’ नामप्रति असहमति जनाउँदै आएको छ। पार्टीभित्र प्रदेशको नाम परिवर्तन गर्ने विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन्।

विशेषगरी राई र लिम्बू समुदायको भावनालाई सम्बोधन गर्दै प्रदेशको नाम परिवर्तनको प्रस्ताव अघि बढाउने तयारी भइरहेको स्रोतको दाबी छ। तर प्रदेशको नयाँ नामबारे भने छलफलबाट निर्णय गरिने पार्टीको भनाइ छ।

कोशीमा दोस्रो ठूलो शक्ति

गत प्रतिनिधिसभा निर्वाचनको मत परिणामअनुसार कोशी प्रदेशमा रास्वपा पहिलो र श्रम संस्कृति पार्टी दोस्रो ठूलो शक्ति बनेको थियो। १४ जिल्लाबाट रास्वपाले ८ लाख ५३ हजार १८३ मत प्राप्त गर्दा श्रम संस्कृतिले २ लाख ९२ हजार ४९ मत पाएको थियो।

त्यस्तै नेपाली कांग्रेसले २ लाख ९० हजार ५६२ र नेकपा एमालेले २ लाख ८८ हजार १८६ मत प्राप्त गरेका थिए। प्रत्यक्षतर्फ श्रम संस्कृति पार्टीका हर्क साम्पाङले सुनसरी–१, महासचिव आरेन राईले खोटाङ तथा ध्रुवराज राईले भोजपुरबाट निर्वाचन जितेका थिए।

पार्टीका उम्मेदवार केही निर्वाचन क्षेत्रमा निकटतम प्रतिस्पर्धीसमेत बनेका थिए। यही मत आधारलाई लिएर श्रम संस्कृति पार्टीले आगामी प्रदेश निर्वाचनमा उल्लेख्य सफलता हासिल गर्ने दाबी गरिरहेको छ।

श्रम संस्कृति पार्टीका नेताहरूले पुराना दलप्रतिको जनअसन्तुष्टि र नयाँ दलप्रति देखिएको आकर्षणलाई आफ्नो राजनीतिक आधारका रूपमा व्याख्या गरेका छन्। आगामी निर्वाचनमा संगठन विस्तार, जनसम्पर्क र श्रमदान अभियानलाई जोड दिँदै कोशी प्रदेशमा सरकार बनाउने लक्ष्य पार्टीले अघि सारेको छ।

सम्बन्धित समाचार