काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। पार्टीले उम्मेदवार छनोटलाई वैज्ञानिक, पारदर्शी र सहभागितामूलक बनाउने भन्दै विभिन्न चरणको परीक्षा तथा मूल्यांकन प्रणाली लागू गर्ने तयारी गरेको छ।
रास्वपाले गत १ भदौदेखि चुनावलक्षित ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ। सुरुमा गाउँपालिका तहलाई लक्षित गरी आवेदन खुलाइएको छ। आगामी स्थानीय तह निर्वाचनमा ७५३ पालिका र ६ हजार ७४३ वडाका विभिन्न पदका लागि कुल ३५ हजार २२१ पदमा उम्मेदवारीका लागि आवेदन आह्वान गर्ने पार्टीको तयारी छ।
उम्मेदवार बन्न चाहनेले सुरुमा क्यान्डिडेट क्लबमा आवेदन दिनुपर्नेछ। त्यसपछि पार्टी प्रवेश, तालिम, मूल्यांकन, प्रारम्भिक निर्वाचन, नागरिकको अनुमोदन र पार्टीको स्वीकृतिसहितका चरण पार गरेपछि मात्रै टिकट पाउने व्यवस्था गरिएको छ।
रास्वपाले उम्मेदवार बन्न संविधान तथा निर्वाचन आयोगले तोकेको योग्यताका अतिरिक्त पार्टी सदस्यतालाई पनि अनिवार्य बनाएको छ। नयाँ पार्टी सदस्य भएको ४५ दिन तथा अर्को दलबाट रास्वपामा प्रवेश गरेको ९० दिन पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ।
आकांक्षी नेपाली नागरिक भएको, कम्तीमा २१ वर्ष उमेर पूरा गरेको र उम्मेदवारी दिन चाहेको पालिका वा वडाको मतदाता हुनुपर्नेछ। आवेदकले अद्यावधिक सम्पत्ति विवरण र प्रहरी रिपोर्टलगायतका कागजात पनि पेस गर्नुपर्नेछ।
पार्टीले उम्मेदवारको आचरण, चरित्र, आर्थिक कारोबार र स्वार्थको द्वन्द्वलाई समेत छनोटको आधार बनाएको छ। घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, साइबर बुलिङ, चरित्र हत्या, अनलाइन ठगी तथा अवैध आर्थिक कारोबारमा संलग्न व्यक्तिलाई उम्मेदवार नबनाउने नीति रास्वपाले अघि सारेको छ।
रास्वपाको उम्मेदवार छनोट प्रक्रियामा ‘लिडरसिप एकेडेमी’लाई २५ अंकभार दिइएको छ। यस चरणमा वैचारिक स्पष्टता, संविधान तथा स्थानीय शासन, कानुनी साक्षरता, व्यवस्थापन, प्रविधिमैत्री प्रशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, विपद् व्यवस्थापनलगायत विषयमा परीक्षण गरिनेछ।
दोस्रो चरणको ‘पोलिटिकल प्रोक्सिमिटी’मा पनि २५ अंकभार रहनेछ। यसमा उम्मेदवारको लोकप्रियता र निर्वाचन जित्ने सम्भावनाको मूल्यांकन गरिनेछ।
तेस्रो चरणमा समावेशितालाई १० अंक दिइनेछ। यसअन्तर्गत लैंगिक समानता, उमेर, अपांगता, भौगोलिक अवस्था तथा सामाजिक–आर्थिक पृष्ठभूमिलगायतका पक्ष हेरिनेछ।
अन्तिम चरणमा प्रारम्भिक निर्वाचन हुनेछ, जसको अंकभार ४० तोकिएको छ। यसमा पार्टीका सदस्यको ९० प्रतिशत र खुला मतदाताको १० प्रतिशत मत रहने व्यवस्था गरिएको छ।
रास्वपाले केही व्यक्तिलाई उम्मेदवार छनोट प्रक्रियामै सहभागी हुन नदिने व्यवस्था गरेको छ। संघीय निर्वाचनको समानुपातिक बन्दसूचीमा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा निर्वाचनसम्बन्धी कसुरमा सजाय पाएर दुई वर्ष पूरा नभएका व्यक्ति त्यस प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणलगायत गम्भीर कसुरमा सजाय पाएका व्यक्तिलाई पनि उम्मेदवार बन्न नदिने मापदण्ड पार्टीले बनाएको छ।
रास्वपाले यी सबै प्रक्रिया पार्टीको एपमार्फत सञ्चालन गर्ने जनाएको छ। अनलाइन सुविधा उपलब्ध नभएका भूगोलमा भने अफलाइन मतदानको व्यवस्था गर्ने तयारी गरिएको छ।