रसुवामा भीषण बाढी : हाइड्रो बग्यो, बस्तीमा पस्यो पानी

1.8k Shares

१० भदौ, काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बाढीका कारण जलविद्युत् आयोजना तथा अन्य संरचनामा क्षति पुगेको र केही बस्तीमा समेत पानी पसेको बताइएको छ । यद्यपि, क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी अकस्मात् आएपछि धेरै क्षेत्रमा क्षति पुगेको छ ।

‘अकास्मात् बाढी आयो । धेरै थोक नोक्सान भएको छ,’ उनले भने, ‘तल्लो तटमा हाइड्रोका आयोजनाहरू बगेको भन्ने आएको छ । बस्तीमा पनि बाढी पसेको खबर आएको छ । धेरै कुरामा क्षति भएको छ ।’

नेपाली भूभागमा उल्लेख्य वर्षा नभएकाले बाढी चीनतर्फबाट आएको हुनसक्ने अनुमान गरिएको छ । प्रमुख जिल्ला अधिकारी परियारले नेपालतर्फ ठूलो हिमनदी नभएको र बाढी आउनुअघि उल्लेख्य वर्षासमेत नभएकाले पारिबाटै बाढी आएको हुनसक्ने बताए।

बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरले प्रभावित क्षेत्रको निरीक्षण गरिरहेको र थप क्षतिबारे जानकारी लिने काम जारी रहेको प्रशासनले जनाएको छ।

हालसम्म बाढीले कति जनधनको क्षति पुर्‍यायो भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन। सुरक्षा निकाय र स्थानीय प्रशासनले प्रभावित क्षेत्रको अवस्था बुझ्ने तथा उद्धारको काम अगाडि बढाइरहेका छन्।

सम्बन्धित समाचार