रसुवा बाढी प्रभावित क्षेत्रमा वैकल्पिक विद्युत् व्यवस्था, ५ सय सोलार पावर बैंक पठाइँदै

918 Shares

काठमाडौं । विद्युत् पूर्वाधारमा बाढीले ठूलो क्षति पुर्‍याएपछि विद्युत् सेवा अवरुद्ध भएको रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गर्न थालेको छ।

बाढीका कारण १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेपछि ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगेपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय मातहतका संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रमा वैकल्पिक ऊर्जा व्यवस्थापनको काम अघि बढाएका हुन्।

ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा प्रभावित क्षेत्रमा ५ सय वटा सोलार पावर बैंक पठाउने तयारी गरेको छ। ती पावर बैंक प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्लाई हस्तान्तरण गरी परिषद्मार्फत प्रभावित क्षेत्रमा पठाइने मन्त्रालयले जनाएको छ।

ऊर्जामन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनका अनुसार रसुवास्थित सबस्टेसनमा ठूलो क्षति भएकाले तत्काल विद्युत् सेवा पुनः सञ्चालन गर्न कठिनाइ छ। त्यसैले प्रभावित नागरिकलाई बत्ती बाल्न तथा मोबाइल चार्ज गर्न सकिने गरी सोलार पावर बैंकको व्यवस्था गर्न लागिएको हो।

मन्त्रालयका अनुसार त्रिशूलीस्थित २२० केभी ‘३ बी’ हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै, ६ वटा प्रसारण लाइनसमेत अवरुद्ध भएका छन्।

जलविद्युत् आयोजना र प्रसारण लाइनमा भएको क्षतिका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत बराबरको ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएको मन्त्रालयले जनाएको छ। यसले राष्ट्रिय विद्युत् आपूर्ति प्रणालीमा समेत चाप परेको छ।

विद्युत् आपूर्ति प्रणालीको अवस्थाबारे जानकारी लिन ऊर्जामन्त्री श्रेष्ठले आज स्युचारटारस्थित प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर–एलडीसी)को निरीक्षण गर्ने भएका छन्। बाढीका कारण समग्र विद्युत् प्रणालीमा परेको प्रभाव र विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको अवस्थाबारे जानकारी लिन निरीक्षण गर्न लागिएको हो।

यसैबीच, ऊर्जा मन्त्रालयले सिन्धुपाल्चोकको समुद्रटारस्थित चौघोडा सबस्टेसन सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ। गुजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

सम्भव भएका अन्य क्षेत्रमा प्राविधिक टोली परिचालन गरी प्रसारण तथा वितरण लाइनको पेट्रोलिङ, मर्मत र पुनः सञ्चालनको काम भइरहेको छ। अवरुद्ध विद्युत् आपूर्तिका कारण राष्ट्रिय प्रणालीमा थप समस्या नआओस् भनेर विद्युत् प्रणाली सञ्चालन विभागलाई आवश्यक निर्देशन दिइएको छ।

आवश्यक परेको अवस्थामा वैकल्पिक विद्युत् आपूर्तिका लागि भीमफेदीमा रहेको जेनेरेटरसमेत पठाउन तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार