काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनको सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार बाढीबाट ४१ वटा पुलमा क्षति पुगेको छ भने रसुवामा मात्रै करिब ४० किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
बाढीका कारण रसुवा जिल्ला सडक सञ्जालबाटै विच्छेद भएको छ । बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त भएपछि जिल्लासँगको नियमित सडक सम्पर्क टुटेको हो ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार अहिले सरकारको मुख्य प्राथमिकता पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई पुनः सडक सञ्जालसँग जोड्ने रहेको छ । पृथ्वीराजमार्गको करिब १३ किलोमिटर सडक लेदोले पुरिएको छ ।
रसुवालाई सडक सञ्जालसँग जोड्न बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी सरकारले अघि बढाएको छ । बेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न कठिन हुने मन्त्रालयले जनाएको छ ।
सरकारसँग हाल ५० मिटरसम्म लम्बाइ भएका सातवटा बेलिब्रिज मात्रै मौज्दात छन् । क्षतिको अवस्था र आवश्यकताका आधारमा ती बेलिब्रिज जडान गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
ठूलो संख्यामा पुल क्षतिग्रस्त भएकाले भारत र चीनबाट समेत तत्काल बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको मन्त्रालयको भनाइ छ ।
सडक खुलाउने कामलाई तीव्रता दिन सरकारीतर्फबाट १० र निजी क्षेत्रबाट १० गरी २० वटा उपकरण परिचालन गरिएको छ । क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राखेर काम भइरहेको मन्त्रालयले जनाएको छ ।
सडक विभागको विवरणअनुसार नेपाल–चीन सीमा नाकामा रहेको मितेरी पुलदेखि मलेखु क्षेत्रसम्मका विभिन्न पुलमा बाढीले क्षति पुर्याएको छ । मितेरी पुल पूर्णरूपमा बगेको छ भने मुग्लिन क्षेत्रका प्रमुख पुलहरू भने जोगिएका छन् ।
रसुवाको टिमुरेमा रहेका दुईवटा बेलिब्रिज बाढीले बगाएको छ । भोटेकोशीको पक्की पुल, चिलिमे पक्की पुल तथा स्याफ्रुबेँसी क्षेत्रमा रहेका बेलिब्रिज र पक्की पुलमा समेत क्षति पुगेको छ ।
हाकु प्रथम र हाकु द्वितीय बेलिब्रिज, माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको बेलिब्रिज तथा मैलुङ बेलिब्रिजसमेत बाढीले बगाएको छ । मैलुङस्थित त्रिशूली–३ ‘ए’ ड्याम नजिकका पक्की पुलमा पनि क्षति पुगेको छ ।
खाल्टेस्थित रसुवा–नुवाकोट सीमाको भोटेकोशी नदीमाथिको पुल तथा बेत्रावतीका पुराना र नयाँ दुवै पक्की पुल बाढीले बगाएको छ ।
नुवाकोटतर्फ तुप्चेस्थित त्रिशूली नदीको पक्की पुल पूर्णरूपमा बगेको छ । त्रिशूली बजारका पुराना र नयाँ दुवै पुलमा बाढीले क्षति पुर्याएको छ ।
सिमचौरस्थित त्रिशूली नदीको पुल, देवीघाटको झोलुङ्गे पुल तथा त्रिशूली नदीमाथिको पक्की पुलसमेत बगेका छन् । देवीघाटस्थित तादी खोलाका पुराना र नयाँ दुवै पुलमा पनि बाढीले क्षति पुर्याएको छ ।
श्रीखालीस्थित त्रिशूली नदीको पुल, बुद्धसिंहघाटको पुल, रातमाटेको पुल र केउरेनीस्थित त्रिशूली नदीमाथिको पुलसमेत बाढीमा परेका छन् ।
सडक विभागको पछिल्लो अद्यावधिक विवरणमा रसुवा, नुवाकोट र धादिङका ३२ वटा पुल पूर्णरूपमा बगेको, तीनवटामा आंशिक क्षति पुगेको र केही पुल उच्च जोखिममा रहेको उल्लेख छ ।
धादिङमा गल्छी नजिक त्रिशूली नदीमाथिको एउटा पुल जोगिए पनि गल्छीभन्दा तल बैरेनी–सल्यानटार सडकमा रहेको पुल बाढीले बगाएको छ ।
ह्यामलेट रिसोर्ट नजिकको त्रिशूली नदीमाथिको पक्की पुलमा क्षति पुगेको छ । जरे बगैँचा र घाटबेँसीस्थित त्रिशूली नदीमाथिका पुल बाढीले बगाएको छ ।
कोल्पु खोलाका नयाँ र पुराना दुवै पुलमा क्षति पुगेको छ भने मलेखुस्थित फुर्केखोला पुल पूर्णरूपमा बगेको छ ।
यद्यपि बेनीघाट र फिस्लिङस्थित त्रिशूली नदीमाथिका पुल भने जोगिएका छन् । चितवनको चुम्लिङटारस्थित बेलिब्रिज तथा मुग्लिनका नयाँ आर्क ब्रिज र पुरानो सस्पेन्सन ब्रिजसमेत जोगिएको सडक विभागको विवरणमा उल्लेख छ ।
भोटेकोशी बाढीले सडक र पुलमा पुर्याएको क्षति ठूलो भएकाले तत्काल यातायात सञ्चालनमा ल्याउनु सरकारका लागि चुनौतीपूर्ण बनेको छ । बाढीले रसुवालाई देशको सडक सञ्जालबाट अलग पारेपछि उद्धार, राहत तथा पुनःनिर्माणका सामग्री लैजानसमेत कठिनाइ भएको छ ।
प्रारम्भिक विवरणअनुसार सडक तथा पुलको क्षति अत्यन्त ठूलो रहेको र पुनर्निर्माणमा लामो समय तथा ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ । सडक विभागका अनुसार प्रारम्भिक आकलनमै सडक र पुलतर्फको क्षति करिब २० अर्ब रुपैयाँ बराबर पुगेको छ ।
सरकारले तत्काल सडक खुलाउने, वैकल्पिक पुल निर्माण गर्ने र प्रभावित जिल्लालाई सडक सञ्जालमा जोड्ने कामलाई प्राथमिकतामा राखेको छ । त्यसका लागि स्वदेशी उपकरण परिचालनसँगै भारत र चीनबाट आवश्यक बेलिब्रिज तथा अन्य सहयोग जुटाउने प्रक्रिया अघि बढाइएको छ ।


