बाढीपीडितलाई एलपी ग्यास व्यवसायीले १ हजार २५० सिलिन्डर दिने

1.4k Shares

१४ भदौ, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १ हजार २५० थान भरिएका एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ।

संघका अध्यक्ष दिवानबहादुर चन्दले बाढीपीडितको राहतका लागि उक्त सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। विपद् सबैको साझा जिम्मेवारी भएकाले प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाइलाई ध्यानमा राख्दै सहयोग गर्न लागिएको उनले बताए।

संघले उपलब्ध गराउने ग्यासका भरिएका सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित वर्गसम्म पुग्ने गरी वितरण गरिनेछ। यसबाट बाढीका कारण प्रभावित भएका परिवारलाई खाना पकाउन आवश्यक इन्धनको अभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गत भदौ १० गते बिहान भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति संघले दुःख व्यक्त गरेको छ।

विपद्को कठिन परिस्थितिमा विभिन्न सरकारी तथा गैरसरकारी निकाय खोजी, उद्धार र राहतमा जुटिरहेका बेला आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत संघले पनि राहत सामग्री उपलब्ध गराउन लागेको जनाएको छ।

संघले उपलब्ध गराउने ग्यास सिलिन्डर सम्बन्धित निकायसँगको समन्वयमा प्रभावित तथा आवश्यकतामा रहेका परिवारसम्म पुर्‍याइनेछ।

सम्बन्धित समाचार