रसुवामा साढे ३ सय बालबालिका सम्पर्कविहीन, ६० भन्दा बढी अभिभावकविहीन

2k Shares

रसुवा । भोटेकोशी बाढीले रसुवाको उत्तरगया गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएपछि सयौँ बालबालिका घरबारविहीन भएका छन् । बाढीपछि साढे ३ सयभन्दा बढी बालबालिका सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण आएको छ भने ६० भन्दा बढी बालबालिकाले आफ्ना अभिभावक गुमाएको तथ्यांक संकलन भएको छ ।

बाढीबाट प्रभावित बालबालिकालाई उत्तरगया गाउँपालिकाको शिवालय आधारभूत विद्यालयमा आश्रय दिइएको छ । त्यहाँ करिब एक सय बालबालिका बसिरहेका छन् । विद्यालय परिसरमा रहेका बालबालिकामध्ये कोही टोलाएर बसेका छन् भने कोही रोइरहेका छन् । उनीहरू अझै पनि सम्पर्कविहीन भएका आफ्ना परिवारका सदस्य फर्किने आशामा छन् ।

उत्तरगया–५ खाल्टेकी नौ वर्षीया भुजना तामाङ पनि त्यही आश्रयस्थलमा छिन् । बाढी आउनुअघि परिवारसँग सामान्य जीवन बिताइरहेकी उनी अहिले बुबा, आमा, पाँच वर्षीय भाइ र १६ वर्षीया दिदीको खोजीमा छिन् । बाढी आएको दिन प्रहरीले उनलाई सुरक्षित स्थानतर्फ लगेपछि परिवारका अन्य सदस्यसँग उनको भेट भएको छैन ।

भुजनाले परिवारका सदस्य बाढीमा परेको हुन सक्ने अरूले बताए पनि आफूहरू फर्केर आउने आशामा रहेको बताएकी छन् ।

त्यस्तै, १० वर्षीया अप्सरा तामाङको अवस्था पनि उस्तै छ । बाढीबाट शिक्षिकाले उनलाई सुरक्षित स्थानमा लगे पनि उनका बुबा, आमा, हजुरबुबा, हजुरआमा, फुपू र १५ महिनाका भाइको अवस्था अज्ञात छ ।

परिवारका सदस्यको खोजीमा रहेकी अप्सरा अहिले शिवालय विद्यालयमा आश्रय लिएर बसेकी छन् । परिवारका सदस्यको अवस्थाबारे थाहा नहुँदा उनी मानसिक रूपमा समेत विक्षिप्त बनेकी छन् ।

विद्यालय र बस्तीमा ठूलो क्षति

उत्तरगया गाउँपालिकाका मैलुङ, पहिरेबेँसी, खाल्टे, कैदेल डाँडा, बोगटी र बेत्रावतीलगायतका क्षेत्र बाढीबाट नराम्ररी प्रभावित भएका छन् । अधिकांश घर बगाएपछि कतिपय बस्ती अहिले बगरमा परिणत भएका छन् ।

बाढीपछि विस्थापित बालबालिकालाई सुरुमा नीलकण्ठ माध्यमिक विद्यालयमा राखिएको थियो । तर विद्यालय आसपास बाढी तथा पहिरोको जोखिम बढेपछि उनीहरूलाई तुलनात्मक रूपमा सुरक्षित मानिएको शिवालय आधारभूत विद्यालयमा सारिएको हो ।

उत्तरगया क्षेत्रका नीलकण्ठ माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, मोडर्न ट्रिनिटी र उत्तरगया बोर्डिङ स्कुलका विद्यार्थीमध्ये केहीलाई शिक्षकहरूले तत्काल सुरक्षित स्थानमा पुर्‍याएर ज्यान जोगाएका थिए ।

नीलकण्ठ माध्यमिक विद्यालयका शिक्षक प्रकाश नेपालका अनुसार विद्यालयमा अध्ययनरत करिब पाँच सय ५० विद्यार्थीमध्ये करिब दुई सय विद्यार्थी अझै सम्पर्कमा आएका छैनन् ।

त्यस्तै, बाढीले विद्यालय क्षेत्रभित्र रहेका ट्रिनिटी, रामचन्द्र आवासीय र उत्तरगया पब्लिक स्कुलका संरचना पनि ध्वस्त भएका छन् । ती विद्यालयका समेत करिब डेढ सय विद्यार्थी बेपत्ता रहेको प्रारम्भिक जानकारी छ ।

चार शिक्षक–कर्मचारी पनि सम्पर्कविहीन

बाढीमा नीलकण्ठ माध्यमिक विद्यालयका चार शिक्षक तथा कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । उनीहरूमा कम्प्युटर इन्जिनियरिङका शिक्षक, प्लस टु तहका शिक्षक, बाल शिक्षिका र विद्यालयकी नर्स रहेका छन् ।

विद्यालयले बाढीपछि विद्यार्थीको पारिवारिक अवस्थाबारे प्रारम्भिक तथ्यांक संकलन गरेको छ । त्यसक्रममा शिवालय विद्यालयमा आश्रय लिइरहेका विद्यार्थीमध्ये ६० जनाले अभिभावकविहीन भएको विवरण दिएका छन् । यो संख्या करिब सयसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

यद्यपि, सञ्चार सम्पर्क विच्छेद भएका कारण बाढीबाट भएको वास्तविक क्षतिको पूर्ण विवरण अझै यकिन हुन सकेको छैन ।

‘खोला होइन, आँधी आएजस्तो भयो’

नीलकण्ठ माध्यमिक विद्यालयका शिक्षक नेपालले बाढी आएको दिनको अवस्था निकै भयावह रहेको बताएका छन् । स्थानीयलाई सचेत गराउन थालेको केही मिनेटमै धुन्चेतर्फबाट ठूलो बाढी आएको सूचना पाएको उनले बताए ।

उनका अनुसार बाढीको वेग सामान्य खोलाको जस्तो नभई आँधी वा हावाहुरी आएजस्तो थियो । बाढीको दृश्य अकल्पनीय र भयावह रहेको उनको भनाइ छ ।

बाढीपछि फोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा अझै पनि धेरै विद्यार्थी, अभिभावक र स्थानीयसँग सम्पर्क हुन सकेको छैन ।

बाढीले तीनवटा विद्यालयका संरचना नै ध्वस्त पारेपछि विस्थापित बालबालिकाको भविष्यबारे सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने शिक्षक नेपालको भनाइ छ ।

बाढीबाट प्रभावित बालबालिकालाई तत्काल सुरक्षित आवास, खानपान र मनोसामाजिक सहयोगसँगै उनीहरूको शिक्षा निरन्तरताका लागि समेत दीर्घकालीन व्यवस्थापन आवश्यक देखिएको छ ।

सम्बन्धित समाचार