विपद्बारे चेतावनी बेवास्ता गर्दा ठूलो क्षति भयो : कमला पन्त
1.4k
Shares
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद कमला पन्तले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका विषयमा सांसदहरूले विगतमा दिएका सुझाव सरकारले गम्भीरतापूर्वक नलिएको बताउनुभएको छ ।
उहाँले विपद् आउनुअघि नै जोखिम पहिचान, पूर्वतयारी र उद्धारका लागि आवश्यक संरचना तथा स्रोतसाधनको व्यवस्था गर्न पटक–पटक आवाज उठाइए पनि त्यसअनुसार काम हुन नसकेको बताउनुभएको हो ।
सांसद पन्तले विपद्का बेला मात्र सक्रिय हुनेभन्दा पनि सम्भावित जोखिमको पूर्वानुमान गरी आवश्यक तयारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विपद् प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्रबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
उहाँका अनुसार प्राकृतिक विपद्का घटना हरेक वर्ष दोहोरिँदै आए पनि विगतका घटनाबाट पर्याप्त पाठ सिकेर पूर्वतयारी गर्न नसक्दा जनधनको क्षति बढिरहेको छ । जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रणाली, उद्धार उपकरण, दक्ष जनशक्ति र आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।
पन्तले विपद् व्यवस्थापनलाई सरकारको मात्र जिम्मेवारीका रूपमा नहेरी स्थानीय तह, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले अहिले देखिएको विपद्को अवस्थाबाट पाठ सिक्दै आगामी दिनमा यस्ता घटनामा क्षति न्यूनीकरण गर्ने गरी दीर्घकालीन योजना बनाउन सरकारसँग आग्रह गर्नुभयो । साथै, विपद् प्रभावित परिवारको उद्धारसँगै उनीहरूको पुनःस्थापना र जीविकोपार्जनको सुनिश्चितता गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।