काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ। पार्टीको १५औँ केन्द्रीय महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा छलफल गर्न इतर समूहले बैठक बोलाएको हो। बैठक दिउँसो १ बजे चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा बस्ने जनाइएको छ।
बैठकमा १५औँ महाधिवेशनको तयारी, समसामयिक विषय र विविध गरी तीन वटा विषयमा छलफल हुने सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिनुभएको छ।
बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र आमन्त्रित सदस्यहरूलाई समेत बोलाइएको छ।
यसअघि कांग्रेस संस्थापन पक्षले १५औँ महाधिवेशनको मिति तय गरिसकेको छ। कांग्रेस केन्द्रीय समितिको साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकले पूर्वनिर्धारित कार्यतालिकाअनुसार १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णयलाई निरन्तरता दिएको थियो।
महाधिवेशनको तयारी, पार्टीभित्रको पछिल्लो अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल गर्न इतर समूहको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।