भासियो नागढुंगा–नौबिसे सडक, यात्रु जोखिममा

1.2k Shares

काठमाडौं । राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख सडकखण्ड नागढुंगा–नौबिसे सडक भासिएको छ। सडक भासिएपछि उक्त क्षेत्रमा सवारी आवागमन जोखिमपूर्ण बनेको छ।

मनसुन सक्रिय रहेकाले लगातारको वर्षासँगै सडकको संरचनामा क्षति पुगेको हो। नागढुंगा–नौबिसे सडकखण्ड पहाडी भूभागमा पर्ने भएकाले वर्षायाममा पहिरो तथा सडक भासिने जोखिम उच्च रहने गरेको छ। धादिङ जिल्ला प्रशासनको मनसुन पूर्वतयारी योजनाले समेत नागढुंगा–नौबिसे खण्डका नागढुंगा पालेटोल, झ्याप्ले खोला, सिस्नेखोला र खत्रीपौवा क्षेत्रलाई जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ।

सडक भासिएपछि सवारीसाधन सञ्चालनमा थप समस्या आउन सक्ने भन्दै चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ। सडक विभागले नागढुंगा–नौबिसे–मलेखु सडकखण्डका लागि विपद् पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य टोलीको व्यवस्था गरेको छ।

काठमाडौं प्रवेश तथा बाहिरिने मुख्य मार्ग भएकाले सडकमा समस्या आउँदा लामो समयसम्म सवारी जाम हुनसक्ने जोखिम छ। यस सडकमा दैनिक ठूलो संख्यामा सवारीसाधन आवतजावत गर्ने भएकाले सडक अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ।

सडक विभागले यसअघि पनि नागढुंगा–नौबिसे–मलेखु सडकखण्डमा वर्षायाममा हुनसक्ने अवरोधलाई ध्यानमा राख्दै वैकल्पिक मार्ग र आपत्कालीन व्यवस्थापनको योजना बनाएको थियो। नागढुंगा–नौबिसे खण्ड बन्द भएमा सीतापाइला–रामकोट–भीमढुंगा–धार्के तथा सामाखुसी–टोखा–छहरे–त्रिशूली–गल्छी मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

नागढुंगा–नौबिसे खण्ड करिब १२.२६ किलोमिटर लामो सडक हो र यो अहिले स्तरोन्नतिको क्रममा छ। नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत यस खण्डको भौतिक प्रगति ८५ प्रतिशत पुगेको जनाइएको छ।

सडक भासिएको स्थानमा थप क्षति हुन नदिन तथा सम्भावित दुर्घटना रोक्न सम्बन्धित निकायले तत्काल निरीक्षण गरी आवश्यक मर्मत तथा सुरक्षा व्यवस्थापन गर्नुपर्ने देखिएको छ।

 
 
 
सम्बन्धित समाचार