पार्टीभित्र असन्तुष्टि जनाउँदै सुषमा यादवले छाडिन् नेकपा

1.5k Shares

कपिलवस्तु । लुम्बिनी प्रदेशकी पूर्वसांसद तथा पूर्वअर्थ राज्यमन्त्री सुषमा यादवले नेपाली कम्युनिस्ट पार्टीबाट राजीनामा दिएकी छन्। उनले पार्टीको प्रदेश कमिटी सदस्य, मायादेवी गाउँपालिका इन्चार्जलगायत सबै जिम्मेवारीसँगै साधारण सदस्यतासमेत त्यागेकी हुन्।

यादवले राजीनामा पत्रमार्फत आफू २०७४ सालदेखि पार्टीमा आबद्ध रही पार्टीको नीति, विचार, सिद्धान्त तथा संगठन निर्माणमा निरन्तर योगदान गर्दै आएको उल्लेख गरेकी छन्।

तर पछिल्लो समय पार्टीभित्र विकसित राजनीतिक परिस्थिति, कार्यशैली, निर्णय प्रक्रिया, संगठन सञ्चालन तथा कार्यकर्ताप्रतिको व्यवहारका विषयमा असन्तुष्टि बढ्दै गएपछि पार्टीबाट अलग हुने निर्णयमा पुगेको उनले बताएकी छन्।

उनका अनुसार पार्टीभित्र आफूले अपेक्षा गरेको राजनीतिक संस्कार, पारदर्शिता, सामूहिक निर्णय, जिम्मेवारीबोध, न्यायपूर्ण व्यवहार र कार्यकर्ताप्रतिको सम्मान कमजोर हुँदै गएको अनुभूति भएको छ।

यादवले आफ्नो राजनीतिक मूल्य–मान्यता, निष्ठा र आत्मसम्मानसँग सम्झौता गरेर पदमा बसिरहनुभन्दा पार्टीबाट अलग हुनु उचित ठानेको स्पष्ट पारेकी छन्।

पार्टी छाडे पनि जनतासँगको सम्बन्ध र जनताप्रतिको आफ्नो जिम्मेवारी भने समाप्त नहुने उनको भनाइ छ। उनले आगामी दिनमा पनि जनताको सुख–दुःख, अधिकार, न्याय तथा सामाजिक हितका विषयमा आफ्नो क्षमता र विवेकअनुसार आवाज उठाइरहने बताएकी छन्।

यादवले भनेकी छन्, ‘पद छोड्दैमा जनताप्रतिको जिम्मेवारी समाप्त हुँदैन र पार्टी छोड्दैमा जनतासँगको सम्बन्ध टुट्दैन।’

उनको राजीनामाले नेपाली कम्युनिस्ट पार्टीको लुम्बिनी प्रदेश, विशेषगरी कपिलवस्तुको स्थानीय संगठनमा राजनीतिक प्रभाव पार्न सक्ने देखिएको छ। यद्यपि यादवले तत्काल अर्को कुनै राजनीतिक दलमा प्रवेश गर्नेबारे भने केही खुलाएकी छैनन्।

 
 
सम्बन्धित समाचार