काठमाडौँ — भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि जापानले आपत्कालीन राहत सामग्री उपलब्ध गराउने भएको छ। जापान सरकारले नेपाल सरकारको अनुरोधमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जेआईसीए) मार्फत राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।
राहत सामग्रीमा पाल, कम्बल, प्लास्टिक सिट, सुत्ने म्याट र पानी राख्ने पोर्टेबल भाँडालगायत सामग्री छन्। यी सामग्री जेआईसीएको सिंगापुरस्थित गोदामबाट नेपाल पठाउने व्यवस्था गरिएको छ।
जापानका प्रधानमन्त्री साना ताकाइचीले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै जापानले उपलब्ध गराउने राहत सामग्री छिट्टै नेपाल आइपुग्ने जानकारी दिएकी थिइन्। उनले विपद् प्रभावित नेपाललाई आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता पनि जनाएकी छन्।
नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट रसुवासहितका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि विभिन्न मुलुकबाट नेपालमा राहत तथा उद्धार सामग्री आउने क्रम जारी छ। परराष्ट्र मन्त्रालयका अनुसार जापानसहित विभिन्न देशबाट पाल, कम्बल, स्लीपिङ ब्याग, खाद्य सामग्री, औषधि तथा अन्य आपत्कालीन सामग्री सहयोगका रूपमा प्राप्त हुँदैछ।
जापानले राहत सहयोगसँगै विपद् प्रभावित क्षेत्रमा आवश्यक परे जापान डिजास्टर रिलिफ टिम पठाउने तयारी समेत गरिरहेको जनाएको छ।