सुरुङभित्र फसेकाको उद्धारबारे बालेन–कुलमान छलफल

1.8k Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलविद्युत् आयोजनाका सुरुङभित्र फसेका व्यक्तिको उद्धारका विषयमा पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग छलफल गरेका छन्।

भेटका क्रममा प्रधानमन्त्री शाहले सुरुङभित्र फसेकाको उद्धार कसरी प्रभावकारी रूपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा घिसिङसँग सुझाव मागेका थिए। घिसिङले उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै आवश्यक प्राविधिक जनशक्ति र उपकरण तत्काल परिचालन गर्नुपर्ने सुझाव दिएका छन्।

घिसिङका अनुसार सुरुङ उद्धारका लागि अत्यन्त जटिल वा विशेष प्रविधि अनिवार्य नभए पनि उपलब्ध उपकरण र दक्ष जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक छ। आवश्यक परे विदेशी विज्ञ तथा प्राविधिक टोलीको सहयोग लिनुपर्नेमा उनले जोड दिएका छन्।

रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा बाढीपछि ठूलो मात्रामा लेदो तथा गेग्रान पसेकाले उद्धार चुनौतीपूर्ण बनेको छ। नेपाली सेना, सुरक्षा निकाय तथा चीन, भारत र दक्षिण कोरियाका विशेषज्ञ टोलीले विभिन्न स्थानमा खोज तथा उद्धार गरिरहेका छन्।

घिसिङले विपद्का बेला दोषारोपणभन्दा मानिसको जीवन बचाउने कामलाई प्राथमिकता दिनुपर्ने बताउँदै सुरुङमा फसेकाको उद्धार युद्धस्तरमा अघि बढाउन सरकारसँग आग्रह गर्दै आएका छन्।

 
 
 
सम्बन्धित समाचार