जसपा नेपालबाट लुम्बिनीका चार सांसदको सदस्यता खारेज

1.4k Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका चार जना प्रदेशसभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ। पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत गतिविधि गरेको भन्दै उनीहरूमाथि अनुशासनको कारबाही गरिएको हो।

निष्कासनमा पर्ने प्रदेशसभा सदस्यहरूमा रुपन्देही–३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, समानुपातिकतर्फकी हेमा वेल्वासे (केसी), बाँके–२ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके–२ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाल रहेका छन्।

जसपा नेपालका अनुसार यी सांसदहरूले पार्टीको निर्णय तथा निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेका थिए। उनीहरू सरकारमा समेत सहभागी भएको भन्दै पार्टीले कारबाही गरेको हो।

चार सांसदले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मागेको विश्वासको मतको पक्षमा मतदान गरेका थिए। आचार्यको पक्षमा एमालेका २९, नेकपाका ११, जसपा नेपालका ४ र राष्ट्रिय जनमोर्चाका १ गरी ४५ मत परेको थियो। कांग्रेस र जनमतका २६ सांसदले विपक्षमा मतदान गरेका थिए।

जसपा नेपालले लुम्बिनीका चार सांसदसँगै पार्टीको नीति तथा निर्णयविपरीत गतिविधि गरेको आरोपमा विभिन्न तहका जनप्रतिनिधि तथा कार्यकर्तासहित २१ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।

यो निर्णय ललितपुरको बालकुमारीमा भदौ १६ देखि १८ गतेसम्म बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेको हो। बैठकले पार्टीको राजनीतिक प्रतिवेदन पारित गर्नुका साथै केन्द्रीय समितिको बैठक आगामी असोज १३, १४ र १५ गते काठमाडौंमा आयोजना गर्ने निर्णयसमेत गरेको छ।

यससँगै लुम्बिनीमा जसपा नेपालका सांसदहरूको भूमिकालाई लिएर प्रदेश राजनीतिमा नयाँ समीकरण बन्ने सम्भावना देखिएको छ। विशेषगरी सरकारको पक्षमा मतदान गरेका चार सांसदलाई पार्टीले कारबाही गरेपछि उनीहरूको आगामी राजनीतिक तथा संसदीय भूमिकाबारे चासो बढेको छ।

 
 
 
सम्बन्धित समाचार