हाइड्रोमा लेदो पन्छाउँदै खोजी, छैटौँ तलासम्म पुग्यो उद्धार टोली

1.3k Shares

काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत् गृहमा फसेकाको खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा प्राविधिक विज्ञसहितको संयुक्त टोलीले रसुवागढी, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, चिलिमे र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी राखेको छ।

रसुवागढी जलविद्युत् आयोजनामा खटिएको संयुक्त उद्धार टोली विद्युत् गृहको छैटौँ तलासम्म पुगेको छ। तर, पाँचौँ तलासम्म लेदो भरिएकाले थप खोजीका लागि लेदो हटाउने काम भइरहेको छ। छैटौँ तलासम्म पुग्दा अहिलेसम्म कुनै व्यक्ति फेला नपरेको जनाइएको छ।

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरीका १८ तथा नेपाल प्रहरी र प्राविधिक विज्ञसहितको टोली परिचालन गरिएको छ। टोलीले सुरुङभित्र खोजी कार्यलाई निरन्तरता दिएको छ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ आयोजनामा सैनिक, गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले तीनवटा सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी गरिरहेको छ। अडिट–२ टनेलबाट एक्साभेटर लैजान सक्ने गरी बाटो सफा गरिएको छ।

चिलिमे जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले मिनी एक्साभेटर र पम्पको प्रयोग गरी सुरुङभित्र जमेको लेदो हटाउँदै खोजी गरिरहेको छ। टोलीले करिब १०५ मिटर भित्रसम्म पुगेर खोजी गरेको र थप भित्र जाने काम भइरहेको छ।

चिनियाँ नागरिकको जीवितै उद्धार

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको हाकुस्थित सुरुङबाट चिनियाँ नागरिक लु हाइताओलाई जीवितै उद्धार गरिएको छ। उद्धार टोलीले सुरुङभित्र करिब २५० मिटरको दूरीमा पुगेर उनलाई जीवित अवस्थामा फेला पारेको हो।

सोही सुरुङबाट थप दुईवटा शवसमेत निकालिएको छ। सुरुङभित्र जमेको लेदो हटाउँदै थप व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

देवीघाटमा ‘एक्रो ब्रिज’ जडान

बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित ताँदी नदीमा नेपाली सेनाले ‘एक्रो ब्रिज’ जडानको काम अघि बढाएको छ। पुल निर्माणका लागि सेनाको इन्जिनियरिङ फौजबाट ५५ जनाको टोली परिचालन गरिएको छ।

त्यसैगरी, मैलुङदेखि स्याफ्रुबेंसीसम्मको क्षेत्रमा पैदल गस्ती गर्दै खोज तथा उद्धार कार्य जारी राखिएको छ। सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रबाट शनिबार दुई विदेशी नागरिकसहित ३९ जनाको उद्धार गरिएको छ।

नेपाली सेनाका अनुसार हालसम्म हवाई उद्धारमार्फत २७५ विदेशी नागरिकसहित ३ हजार ९९७ जनाको उद्धार गरिएको छ। त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट प्रभावितलाई स्वास्थ्य सेवा पनि प्रदान भइरहेको छ।

हालसम्म ती स्वास्थ्य केन्द्रबाट ३ हजार २९७ जनाले स्वास्थ्य सेवा लिएका छन्। रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजार ३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन स्वास्थ्य सेवामा समेत काम गरिरहेका छन्।

सम्बन्धित समाचार