नेपाललाई जलवायु न्याय दिलाउन अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपतिको अपिल

1.4k Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललगायत जलवायु परिवर्तनबाट प्रभावित मुलुकका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन्।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वव्यापी तापक्रम निरन्तर बढिरहेका कारण हिमाली तथा पारिस्थितिकीय रूपमा संवेदनशील मुलुकहरूमा जोखिम थपिँदै गएको बताएका हुन्।

उनले पछिल्लो विपद्ले नेपालको हिमाली पर्यावरण अत्यन्तै संवेदनशील अवस्थामा रहेको देखाएको उल्लेख गर्दै विश्वव्यापी तापक्रम वृद्धिबाट उत्पन्न जोखिमप्रति गम्भीर बन्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे।

‘नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न’ अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपतिले आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालले विगतदेखि नै भूकम्प, बाढी, पहिरो, महामारीलगायत विभिन्न प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्दै आएको बताए। यस्ता संकटका बेला नेपाली नागरिकले साहस, धैर्य, संयम र दृढताका साथ सामना गर्दै आएको उनको भनाइ छ।

पछिल्लो समय भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको पृष्ठभूमिमा राष्ट्रपतिको सम्बोधन आएको हो। बाढी तथा पहिरोबाट मानवीय क्षतिसँगै सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ।

नेपालले हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु परिवर्तनको असर भने गम्भीर रूपमा भोगिरहेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको छ। पछिल्लो समय नेपालमा जलवायुजन्य विपद्का कारण भएको क्षतिका लागि राहतभन्दा अघि बढेर जलवायु न्याय तथा हानि–नोक्सानीको अधिकार माग गर्नुपर्ने आवाजसमेत बलियो बन्दै गएको छ।

राष्ट्रपति पौडेलको सम्बोधनले जलवायु परिवर्तनबाट बढी प्रभावित नेपालजस्ता मुलुकको समस्या सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग, जिम्मेवारी र न्यायपूर्ण जलवायु वित्तको आवश्यकतालाई पुनः जोड दिएको छ।

सम्बन्धित समाचार