जेन–जी आन्दोलनविरुद्ध संसदमा गर्जन बन्द गरियोस् : सांसद यादव

1.2k Shares

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवले जेन–जी आन्दोलनको मानमर्दन नगर्न संसदमा चेतावनी दिएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा उनले दुईपटक ‘जेन–जी आन्दोलन जिन्दावाद’को नारा लगाउँदै आन्दोलनका माग सही रहेको दाबी गरे।

“खासमा हामी सडकमा के माग्न गएका थियौँ, जसको बदलामा लाठी र गोली खान पर्‍यो । सुशासनको माग गर्दा बन्दुकको निशानामा परे र ढले । हाम्रो माग सत्ता थिएन । हामी कसैको भाग खोस्न गएका थिएनौँ,” यादवले भने।

उनले जेन–जी आन्दोलनले उठाएका विषयलाई निर्वाचनमार्फत जनताले अनुमोदन गरिसकेको बताए। तर, आन्दोलनका क्रममा भएको सहमति अझै कार्यान्वयन नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

“आजसम्म जेन–जी पुस्तासँग अन्तरिम सरकारले गरेको सहमति कार्यान्वयन भएको छैन,” उनले भने, “मृतकका परिवार र घाइतेहरूसँग गरिएको सम्झौता यथाशीघ्र कार्यान्वयन गरियोस्। जेलमा बन्द जेन–जी युवालाई तत्काल रिहाइ गरियोस्।”

‘सत्ता स्थायी हुँदैन’

सांसद यादवले जेन–जी आन्दोलनविरुद्ध संसदमा हुने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विगतबाट पाठ सिक्न आग्रह गरे।

“म चेतावनी दिन चाहन्छु– बालुवाटारबाट बार्दली पुगेको विगतलाई हाम्रा साथीहरूको रगतबाट प्राप्त नयाँ जनमतको मानमर्दन गर्ने गरी थप अहंकारको कालो बादल संसदभित्र गर्जन बन्द गरियोस्,” उनले भने।

उनले सत्ता स्थायी नहुने र जनताको आवाज सधैँ जीवित रहने बताए। “भदौ २३ ले हामीलाई एउटा कुरा सिकाएको छ– सत्ता स्थायी हुँदैन, जनताको आवाज सधैँ जीवित रहन्छ,” यादवले भने।

उनले आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका नागरिकको पीडा राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार