एमाले पुनर्गठनमा अलमल : दुई प्रतिवेदन मिलाउन तीन सदस्यीय समिति गठन

897 Shares

काठमाडौँ । नेकपा एमालेको पार्टी पुनर्गठनका विषयमा काभ्रेको बल्थलीमा बसेको बैठक निष्कर्षविहीन भएको छ। पार्टी पुनर्गठनका लागि दुईवटा छुट्टाछुट्टै प्रतिवेदन पेस भएपछि त्यसमा सहमति जुट्न नसक्दा बैठकले तत्काल कुनै निर्णय गर्न नसकेको हो।

बल्थलीमा बसेको पुनर्गठन कार्यदलको बैठकमा एमाले महासचिव शंकर पोखरेल र कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ पक्षबाट छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत भएका थिए। दुवै प्रतिवेदनमा रहेका प्रस्ताव र विषयवस्तुलाई लिएर छलफल भए पनि बैठकले अन्तिम निष्कर्ष निकाल्न सकेन।

बैठक निष्कर्षविहीन भएपछि तत्कालका लागि बैठक स्थगित गरिएको छ। यद्यपि, पार्टी पुनर्गठनको प्रक्रियालाई अघि बढाउन दुवै प्रतिवेदनलाई समेटेर एउटा साझा अन्तिम मस्यौदा तयार गर्ने निर्णय भने भएको छ।

त्यसका लागि तीन सदस्यीय समिति गठन गरिएको छ। समितिको संयोजकमा रामबहादुर थापा ‘बादल’ रहेका छन्। समितिका सदस्यमा एमाले उपाध्यक्ष विष्णु पौडेल र सदस्यसचिवमा महासचिव शंकर पोखरेल रहेका छन्।

अब उक्त समितिले दुवै पक्षका प्रतिवेदनमा रहेका प्रस्ताव, सुझाव तथा पुनर्गठनसम्बन्धी विषयलाई समेटेर साझा मस्यौदा तयार गर्नेछ। त्यसपछि पार्टी नेतृत्वले त्यसबारे आवश्यक निर्णय लिने बताइएको छ।

एमालेभित्र पछिल्लो समय पार्टीको पुनर्गठन, संगठनात्मक संरचना तथा आगामी राजनीतिक रणनीतिलाई लिएर छलफल तीव्र बनेको छ। बल्थली बैठकलाई पनि यही प्रक्रियाअन्तर्गत महत्वपूर्ण बैठकका रूपमा हेरिएको थियो। तर दुईवटा प्रतिवेदनबीच देखिएको मतभेदका कारण तत्काल निर्णय हुन नसकेको हो।

सम्बन्धित समाचार