बाढी प्रभावित क्षेत्रमा सक्रिय रहेको योङ्ग कम्युनिस्ट लिग(वाइसीएल)ले पीडितहरूको अस्थायी आवास निर्माण काम सुरु गरेको छ ।
भदौ १० गते भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढी आएसँगै वाइसीएलले ६०० स्वयंसेवक उद्धार तथा राहत कार्यमा नियमित परिचालन गरेको थियो ।
बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल नेपालले अस्थायी टहरा निर्माण अभियान सञ्चालन गरिरहेको छ।
विपद्का कारण घरबारविहीन भएका बाढीपीडितलाई तत्काल सुरक्षित आश्रय उपलब्ध गराउने उद्देश्यले वाईसीएलका स्वयंसेवकहरू प्रभावित क्षेत्रमा खटिएका छन्।
उनीहरूले स्थानीयसँग समन्वय गर्दै अस्थायी टहरा निर्माण, राहत व्यवस्थापन तथा अन्य आवश्यक सहयोगमा समेत सक्रियता देखाएका छन्।
बाढी र पहिरोका कारण प्रभावित परिवारहरू खुला आकाशमुनि बस्नुपर्ने अवस्था आउन नदिन तत्काल अस्थायी आवास निर्माणलाई प्राथमिकता दिइएको वाईसीएल नेपालले जनाएको छ।
अभियानअन्तर्गत थप प्रभावित क्षेत्रमा समेत स्वयंसेवक परिचालन गरी सहयोगलाई निरन्तरता दिने तयारी गरिएको छ।