जिल्लामै पहिलो पटक हरिवनमा विद्युतीय चार्जीङ स्टेसन

2.3k Shares

सर्लाहीको हरिवनमा जिल्लाकै पहिले विद्युतीय सवारी साधन चार्जीङ स्टेसन स्थापना गरिएको छ । हरिवन नगरपालिका  ११ मा जिल्लाकै पहिले विद्युतीय सवारी साधन चार्जीङ स्टेसन स्थापना गरिएको हो ।
नेपाल सरकारले सन् २०५० सम्ममा यातायातमा प्रयोग हुने इन्धनलाई ५० प्रतिशतमा सीमित गर्ने प्रतिवद्धता जनाएपछि विद्युतीय सवारी साधन चार्जीङ स्टेसनहरु धमाधम  स्थापना हुन थालेका छन् ।
एक पटकमा चार वटा सवारी साधन चार्ज गर्न सकिने गरि दुई वटा विद्युतीय चार्जीङ स्टेसन स्थापना गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालवन्दीका प्रमुख सन्जीव कुमार साहले बताए ।उनका अनुसार दुई वटा विद्युतीय चार्जीङ स्टेसन स्थापना गर्न करिब रु एक करोड ५० लाख लगानी लागेको छ । उहाँका अनुसार विद्युतीय सवारी पुर्ण रुपमा संचालनमा आएमा कार्बन उत्सर्जन तथा जलवायु परिवर्तन हुनबाट बचाउन सहज हुने छ ।
नेपालको कुल कार्बन उत्सर्जनको २६ प्रतिशत हिस्सा यातायात क्षेत्रले ओगटेको छ । सहज रुपमा विद्युतीय चार्जीङ स्टेसन स्थापना गरिए विद्युतीय सवारीसाधनहरुको संख्या समेत बढ्ने हरिवन नगरपालिका ११ का भरत प्रसाद उप्रेतीले बताए । उनका अनुसार परम्परागत इन्धनबाट हुने प्रदुषणले वातावरणमा पार्ने नकारात्मक प्रभाव,नयाँ प्रविधिको विकास तथा इन्धनको मूल्यमा देखिएको उतार चढावका कारण विद्युतीय सवारी साधनको महत्व बढेको हो । 
बेलायतलगायत केही यूरोपियन देशहरुले सन् २०४० सम्म परम्परागत इन्धनबाट चल्ने सवारी साधनलाई शुन्य–कार्बन उत्सर्जन (जेरो इमिशन) सवारी साधनले पूर्ण रुपले विस्थापन गर्ने लक्ष्य लिएका छन् । हरिवनमा निर्माण भएको चार्जीङ स्टेसनले एउटा गाडि पुर्ण रुपमा चार्ज गर्न करिव तीन घन्टा लाग्ने विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख साहले बताए ।
जलवायु परिवर्तनको प्रमुख कारक कार्बन उत्सर्जन रहेको र यातायात क्षेत्रले नेपालको कुल उत्सर्जनको २६ प्रतिशत हिस्सा ओगटेको विभिन्न वातावरण विद्धहरुको तथ्यांकमा उल्लेख छ । हिमालय श्रृंखलाको कुल तीन भागको एक भाग नेपालमा पर्ने र जलवायु परिवर्तनको प्रभावको हिसाबले यो क्षेत्र संवेदनशील क्षेत्रको रुपमा रहेको वातावरण विद्धहरुको तथ्यांकमा उल्लेख छ । 
नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सम्पूर्ण निजी सवारी साधनलाई विद्युतीय सवारी साधनले पूर्ण रुपले विस्थापन गरेपनि संख्या र खपतको तुलनामा जलवायु परिवर्तनमा पर्ने सकारात्मक प्रभावको आधारमा तात्विक फरक नपर्ने जानकारहरुको भनाई छ । बास्तवमै सरकारले विद्युतीय सवारी साधनलाइ प्रोत्साहन गर्ने हो भने तीनै तहका सरकारले खरिद गर्ने सवारी साधनहरुमा विद्युतीय सवारीसाधनहरु अनिवार्य गर्न आवश्यक छ ।

सम्बन्धित समाचार