लालबन्दी ९ को जनज्योतिका नवनिर्वाचित स्ववियु पदाधिकारी र सदस्यले शपथ ग्रहण गरे

2k Shares

गणेश खड्का
सर्लाहीको लालबन्दी नगपालिका ९ मा रहेको जनज्योति बहुमुखी क्याम्पसको नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का पदाधिकारी र सदस्यहरुले शपथ ग्रहण गरेका छन् । चैत ५ गते सम्पन्न भएको निर्वाचनबाट चुनिएका स्ववियु पदाधिकारी र सदस्यहरुलाई शुक्रबार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि  क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीले शपथ खुवाएका हुन् ।
चुनावमा प्रत्यक्षबाट निर्वाचित स्ववियु सभापति अभिमन्यु चौधरी,सचिव अनिता कुमारी बुढाथोकी,कोषाध्यक्ष एलोज खड्कासहित सदस्यहरु रोहितकुमार कार्की,अंशु पोखरेल,निर्मल अधिकारी,विवेक कुमार दास,अनिस खड्का र प्रज्वल माझीले शपथ ग्रहण गरेका हुन ।

यस्तै,समानुपातिक मतका आधारमा अनेरास्ववियुबाट सदस्यमा चयन भएका मोहन पाख्रिन लामा र सजिना वाइवा तथा नेविसंघबाट सदस्यमा छानिएका इरसाद मिकरानी,तेजबिक्रम थापा,नितेशकुमार पन्त र अमन अधिकारीले पनि शपथ लिएका क्याम्पस व्यावस्थापन समितिले जनाएको छ ।
नवनिर्वाचित स्ववियु कार्य समितिको पहिलो बैठकले समानुपातिकबाट छानिएका छ जना सदस्यहरुमध्येबाट एक जनालाई उप–सभापति र एक जनालाई सह–सचिवमा मनोनयन गर्ने छ । स्ववियुका नवनिर्वाचित पदाधिकारी र सदस्यको प्रमाण पत्र वितरण,शपथ ग्रहण र पदस्थापन कार्यक्रम शुक्रबार एकैसाथ सम्पन्न गरिएको निर्वाचन अधिकृत धर्मेन्द्र अधिकारीले जानकारी दिए । लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा क्याम्पसका प्रमुख उमेश तिमल्सिना लगायतको  उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार