शंखर पहाडी( गाैरब)
पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत सर्लाही खण्डकाे काम असार १५ गतेभित्र सकाउन दवाव सृजना भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मंगलबार बसेकाे सराेकारवालाहरुकाे बैठकले पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत सर्लाही खण्डकाे काम असार १५ गतेभित्र सकाउन दवाव दिएका हुन ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको सराेकारवालाहरुकाे बैठकले सो निर्णय गरेको हो।
बैठकले हुलाकी राजमार्ग निर्माणको क्रममा विवादित रहेका स्थानहरुको समस्या समाधान गर्न जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख ,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुखहरु , आयोजना प्रमुख,सम्बन्धित स्थानीय तहका प्रमुख तथा अध्यक्ष,नागरिक समाज र पत्रकारसहितको उपस्थितिमा साइट क्लियर गरि समस्या समाधान गर्ने, सडक र नाला निर्माण नहुदा सम्म हुलाकी राजमार्गमा पर्ने बस्ती र बजार क्षेत्रमा निर्माण व्यवसायीले नियमितरुपमा पानी पटाउने र बिधुत प्राधिकरण कार्यालयको समन्वयमा हुलाकी राजमार्गमा पर्ने बिजुलीका पोलहरु नेपाल बिधुत प्राधिकरणको मलंगवा वितरण केन्द्रले हटाउने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी यावदले जानकारी दिए ।
सर्लाहीको पुर्वी सिमाना सितलपुरदेखी रौतहटको सिमाना बागमती नदीसम्म ४० किलोमिटरको हुलाकी सडक निर्माणको विषयलाई लिएर पटकपटक बैठक बसेर सहमती र निर्णय भइसकेको भएपनि हालसम्म निर्माणकार्य सम्पन्न भएको छैन । समयमा काम सम्पन्न गर्ने सहमति हुँदा पनि निर्माण कम्पनीको गैरजिम्मेवारपन र ढिलासुस्तीका कारण यस क्षेत्रका बासिन्दाहरु वर्षौंदेखि हिलो र धुलोबाट पिडित हुँदै आएका छन् ।