सर्लाहीको हरिवन नगरपालिका १० सुखेपाेखरी स्थित रहेकाे माेडल युरिका एकेडेमीका शिक्षक छात्रालाई जबर्जस्ती करणीको प्रयासमा पक्राउ परेका छन् । आफ्नै विद्यालयमा अध्यनरत अन्दाजी १४ वर्षीया एक छात्रालाई उनकै घरमा पुगेर करणीको प्रयास गर्ने हरिवन नगरपालिका ११ का अन्दाजी ४२ वर्षीय रवीन कार्की पक्राउ परेका ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
शिक्षक कार्कीले गएको बुधबार मदिरा सेवन गरी छात्रालाई भान्साको काम गरिरहेका बेला घरमै पुगेर जबर्जस्ती करणीको प्रयास गरेका पीडित परिवारकाे भनाइ छ।पीडित परिवारका अनुसार छात्राले प्रतिकार गर्दा शिक्षक कार्की भागेका थिए ।
छात्राका परिवारले घटनाबारे ईलाका प्रहरी कार्यालय हरवनमा जाहेरी दिए लगत्तै शिक्षक कार्कीलाई पक्राउ गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भई रहेकाे इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।