सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित रहेको राधाकृष्ण सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रबाट काँचा सिसौका रुखहरु तस्करी भएको छ ।लालबन्दी नगरपालिका ६ स्थित रहेको राधा कृष्ण खेलमैदानको नजिकै राधाकृष्ण सामुदायिक वन उपभोक्ता समुहको वनक्षेत्रबाट चारवटा हरिया सिसौका रुख काटेर तस्करी भएको हो ।

पुर्व पश्चिम लोकमार्ग नजिकै ईलाका प्रहरी कार्यालय लालबन्दी,सव डिभिजन वन कार्यालय लालबन्दी र राधा कृष्ण सामुदायिक वन उपभोक्ता समुहको कार्यालय नजिकै हरिया सिसौका रुखहरु काटिदा पनि सरोकवाला निकाय मौन देखिएकाले उनिहरुको मिलेमतोमा रुख काटिएको स्थानीयको आरोप छ ।

करिब एक साता पहिला नै यी रुखहरु काटिएका थाहा पाएको र डिभिजन वन कार्यालयलाई जानकारी गराएपछि एकसाता पछि वन कार्यालयको टोली घटनास्थलमा पुगेको हो । घटनास्थलमा पुगेको सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख एवम सहायक वन अधिकृत सुभाष साहले काटिएका रुखका ठुटाहरुमा मुद्धा नम्बर लेखि घटनास्थल मै मुचुल्का उठाएर अनुसन्धानको काम अघि बढाएको बताए ।

स्थानीयले कमलामाई मिडिया प्रा.लिलाई पनि जानकारी गराएपछि घटनास्थलमा पुगेको हाम्रो टोलीलाई देखेपछि घटनास्थलमा रहेका राधाकृष्ण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिम बहादुर आले घटनास्थलबाट भागेका छन् ।पछि उनलाई फोन सम्पर्क गर्दा आफुहरुलाई रुख काटिएको छ भन्ने २÷३ दिन पहिला थाहा भएको तर खुल्ला ठाउँमा कसले रुख काट्यो होलार भनेर वेवास्था गरेको राधाकृष्ण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष आलेले बताए।उनको यो गैर जिम्मेवारपुर्ण जवाफबाट उनको समेत मिलेमतोमा चार वटा सिसौका रुख काटिएको आशंका गर्न सकिन्छ ।आफ्नो सामुदायिक वन क्षेत्रबाट काटी चोरी तस्करी भएका हरिया सिसौका रुखहरु कहाँ छन् भन्ने विषयमा सामुदायिक वनले कुनै चासो नराखेका कारण सामुदायिक वन र काठ चोरी तस्करी गर्ने विच राम्रो तालमेल रहेको स्थानीयको आरोप छ ।