काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चाैथो पटक विश्वासको मत लिने भएका छन् ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्चासको मत लिने भएका हुन् ।
जसपाले बैशाख ३१ गते सरकारबाट बाहिरिदै समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय संसद सचिवालयमा पत्र पनि लेखेर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।