पौष ३, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहँदैमा, सराप्दैमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको वर्तमान सरकार नढल्ने स्पष्ट पारेका छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
मुलुकमा अस्थिरता चाहनेले सरकार ढल्ने कल्पना गरेको भन्दै कसैले चाहेर वर्तमान सरकार नढल्ने पनि उनले जिकिर गरे । ‘केही मान्छे भन्छन्, कामना गर्छन्, यो सरकार ढलिजाओस् भन्छन् । केहीले त जथाभावी बोल्न थाले, अति नै गर्न थाले । अस्ति पुष्पकमल दाहाल प्रचण्ड र रविवाला सरकार हुँदा त्यसै गर्थे । त्यस्तै कुरा अहिले दोहोर्याउन चाहेका छन्’, ओलीले भने, ‘तर झिंगाको सरापले डिंगा मर्दैन, गाईभैंसी, पशु केही पनि मर्दैनन् ।’ओलीले भ्रष्टाचारले सीमा नाघेको, राजनीतिक नृत्य गरेको देख्न नसकेपछि कांग्रेस र एमाले मिलेको बताए ।
‘हेर्दा हेर्दै भ्रष्टाचारको कुनै सीमा रहेन । जनताले भन्न थाले, एमाले र कांग्रेस जस्ता पार्टी हुँदा हुँदै यी कसका नाच हुन्? अरु कलाकार बनेर धुमाधाम नाच्न थालेका थिए । त्यसपछि हामीले त्यसलाई सच्याउनुपर्छ भनेर मिलेका हौँ । दुई दलले देशमा स्थिरता कायम गरेर सुशासन र विकास फर्काउन लागेका छन् ।’
राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको भन्दै प्रधानमन्त्री ओलीले अहिलेको समीकरण ०८४ सम्मै अघि बढ्ने बताए । प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले गरेका कामबाट जनता निराश भएपछि ठूला दल एकै ठाँउ उभिएको बताए ।