युवा संघको मतदान सकियो, केहीबेरमै मतगणना सुरु हुने

2k Shares

काठमाडौं, १३ जेठ । नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । पोखरा सभागृहमा आज विहान १० बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सकिएको हो । कूल १ हजार ७ सय ६४ प्रतिनिधि (मतदाता) रहेकोमा १ हजार ४ सय ४ मत खसेको बताइएको छ ।

केहीबेरपछि आज नै मत गणना सुरु हुने पनि बताइएको छ । युवा संघको अध्यक्षमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धी रहेका छन् । थेबे अघिल्लो अधिवेशनमा अध्यक्षमा चयन भएका थिए भने पुरी महासचिव बनेका थिए । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षको उम्मेदवार बनेका छन् । 
महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरी प्यानलबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । ६४ पद निर्विरोध हुँदा ९ पदाधिकारीसहित ९३ पदमा निर्वाचन भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली युवा संघको निर्वाचन सर्वसम्मत गराउन चाहन्थे । थेबे र पुरीले अध्यक्षमा अडान नछाडेपछि निर्वाचन भएको हो । पछिल्लो समय एमालेमा ओलीको वर्चस्व गुम्दै गएको छ ।

सम्बन्धित समाचार