काठमाण्डौ । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोक्का पक्राउ परेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार रोकालाई पक्राउ गरेको एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको हो । उनी सुन तस्करीमै हाल पुर्पक्षको लागि कारागारमा रहेका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती हुन् ।
रोकाको माओवादीका नेताहरूसँग निकटता रहेको खुलेको थियो । उनको सम्बन्ध माओवादीका नेताहरू वर्षमान पुन र नन्दकिशोर पुनसँग समेत भएको भन्दै समाचारहरू आएका थिए । वर्षमान पुनसँगको बसेर गरेको डिनरको फोटो चर्चित पनि छ । अमलासँग पारिवारिक नाता बाहेक अरू सम्बन्ध नरहेको उनीहरूले बताउँदै आएका थिए । रोकाले ठमेलको भियना होटल पनि सञ्चालन गर्थिन्। प्रहरीले सुन तस्करीको छानबिन गर्दा उक्त होटलमा पटकपटक छापा मारेको थियो ।
२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक-शुमा सुन रहेको सूचनापछि राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । भन्सार जाँच पास भएर छुटिसकेको ब्रेकशु विभागले नियन्त्रणमा लिएको थियो । उक्त ब्रेक शुभित्र ठूलो परिमाणमा सुन भेटिएको थियो। पछि परिणाम जाँच्दा उक्त सुन ६० किलो ७१६ ग्राम रहेको खुलेको थियो । दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक शु मगाएको खुलेको थियो।
विभिन्न नक्कली कम्पनी खडा गरी चीनबाट विभिन्न सामानभित्र सुन राखेर तस्करी गर्ने गरेको खुलेको थियो । सुरूमा यसको अनुसन्धान विभागले नै गरेको भएपनि पछि सिआइबीले अनुसन्धान प्रक्रिया अघि बढाएर मुद्दा दायर गरेको थियो । दावालाई राजश्व अनुसन्धान विभागको टोलीले २०८० साउन १४ गते पक्राउ गरेको थियो। तर श्रीमती रोक्का भने फरार भइसकेकी थिइन् ।