चल्ला उत्पादन र बिक्री भोलिदेखि पूर्ण बन्द: ह्याचरी उद्योग संघ

2.5k Shares

काठमाडौं । नेपाल ह्याचरी उद्योग संघले भोलि (सोमबार) देखि लागु हुनेगरी कुखुराको चल्ला उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ । संघको शुक्रबार बसेको भेलाले २३ असारदेखि २९ असारसम्मका लागि संघमा आवद्ध उद्योगीलाई बोइलर र कलर बोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको हो ।

पछिल्लो समय चल्ला उत्पादक किसानलाई समस्या परेको र लागत अनुसार मूल्य नपाएको भन्दै उक्त निर्णय गरिएको संघले जनाएको छ । संघ अध्यक्ष लक्ष्मीदास श्रेष्ठले ह्याचरी व्यवसायमा अहिले देखिएको विषम परिस्थिति मध्यनजर गर्दै उत्पादन तथा बिक्री बन्द गर्ने निर्णयमा पुगेको बताए ।

उनले एक साता बन्द गर्दा बजार राम्रो हुन्छ कि भन्ने आशाले यसो गर्न लागिएको बताए । उनका अनुसार, अहिले बोइलर फार्मिङ गर्ने किसान ६ सय हाराहारी छन् । २ वर्ष अगाडिसम्म ह्याचरी उद्योगमा ३ सय ५० बढी फर्म आबद्ध थिए । तर, अहिलेसम्म आइपुग्दा १ सयभन्दा पनि कम मात्रै आबद्ध रहेको उनी बताउँछन् ।

‘अहिलेसम्म आइपुग्दा धेरै किसान यस क्षेत्रबाट पलायन भइसकेका छन्,’ उनी भन्छन्, ‘अर्को, अहिले चल्ला उत्पादनको माग नै कम भएर गइरहेको छ । हाम्रो खुला सिमानाका कारण निर्वाध रूपमा चोरी पैठारी भएर आउने चल्ला, कुखुरा र कुखुराको मासु ठूलो समस्याका रूपमा देखापरेको छ ।’ नेपालमा अहिलेको बजार माग प्रतिसाता २० देखि २२ लाख मात्रै रहेको भए पनि उत्पादन भने प्रतिसाता ३० देखि ३५ लाख रहेको उनी बताउँछन् ।

सम्बन्धित समाचार