असोज- ९, काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारले फागुन २१ गते हुने निर्वाचनको लागि प्रारम्भिक कार्य सुरु गरिसककेको बताएकी छन् । बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
यसका लागि निर्वाचनसम्बन्धी कानूनमा अध्यादेशमार्फत संशोधन गर्दै मतदाता नामावली अद्यावधि गरेका, निर्वाचन आयोगसँग सुरक्षा, निर्वाचन सामाग्री तथा सुरक्षाबारे छलफल गरेको र विदेशमा रहेका नागरिकसमेत निर्वाचनमा सहभागी हुन पाउने विषयमा समेत परामर्श गरिएको उनले बताइन् ।
प्रधानमन्त्री सुशीला कार्कीले वैधानिक प्रक्रियाबाट नै संविधान संशोधन गर्न सकिने बताएकी छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले संविधान संशोधन वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्र भन्दा बाहिरको विषय रहेको बताइन् ।
उनले जेनजी आन्दोलनको माग अनुसार संविधान संशोधन आगामी निर्वाचनबाट आउने संसद्ले गर्ने बताइन् । त्यसका लागि निर्वाचनमा सहभागी हुन जेनजी पुस्तालगायत सबै सरोकारवालमा उनले आग्रह गरिन् ।