काठमाडाैं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकहरुसँगको पार्टीे एकता ऐतिहासिक र असाधारण रहेको दाबी गरेका छन् ।
सधैंभरी प्रचण्ड माधवले पार्टीको नेतृत्व गर्नुपर्छ भन्ने नभएको दाबी गरेका प्रचण्डले एकता घोषणा सभालाई सम्बोधन गर्दै यो एकतालाई आत्मसमिक्षा र सुधारको अवसरको रूपमा लिन आग्रह गरेका छन्।
विगतमा भएका कमी कमजोरीहरुको आत्मसमिक्षा गर्दै नेपाली समाजमा आधारित वैज्ञानिक समाजवाद निर्माणतर्फ अघि बढ्ने दाबी गरेका प्रचण्डले मुलुकलाई सबै प्रकारका संकटबाट मुक्त गर्ने सवालमा कम्युनिष्ट पार्टीको अग्रणी भूमिका रहेको उल्लेख गरे ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले देशलाई अघि बढाउन अझ सुन्दर र परिमार्जित संविधान बनाउन पार्टी तयार रहेको जिकिर गरे ।
राष्ट्रिय एकताको रक्षा, संविधान संशोधन र गणतन्त्रात्मक व्यवस्थाको सुरक्षा पार्टीको अहिलेको मुख्य कार्यभार भएको बताएका नेपालले आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि नयाँ पुस्तालाई उत्तरदायी र सुसंस्कृत बनाउने आवश्यकता रहेको र आफूहरु सो बाटोमा अघि बढ्न जरुरी रहेको उल्लेख गरेका छन् ।