निर्वाचनमा सरकारको एकमुखी ध्यान गृहमन्त्री अर्याल

1.7k Shares

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको प्रमुख लक्ष्य आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनु नै रहेको बताएका छन्।

मंगलबार भैरहवामा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै उनले चुनावपछि बन्ने नयाँ सरकारलाई नेतृत्व हस्तान्तरण गर्न सरकार तत्पर रहेको स्पष्ट पारे।

चुनाव नहुने भन्ने आशंकाहरू बढिरहेकै बेला गृहमन्त्री अर्यालले सरकारले आफ्नो काममार्फत जवाफ दिने बताए। ‘विभिन्न बहाना बनाएर चुनाव हुँदैन भन्नेहरूलाई हामी काम र नतिजाबाटै जवाफ दिन्छौँ,’ उनले भने।

उनका अनुसार पछिल्लो पुस्ताले उठाएका प्रश्नहरूको समाधान नभए मुलुक पुनः गम्भीर दुर्घटनातर्फ धकेलिन सक्ने चेतावनी पनि सरकारले बुझेको छ।

उनले दलका नेताहरूलाई निर्वाचनसम्बन्धी अभिव्यक्ति दिँदा जिम्मेवार र गम्भीर हुन आग्रह गरे।

लुम्बिनी प्रदेशबाट सुरु गरिएको प्रदेशस्तरीय सुरक्षा बैठकको उद्देश्य चुनावसँग सम्बन्धित चुनौतीहरूको विश्लेषण गर्दै आवश्यक सुरक्षा रणनीति तय गर्नु रहेको गृहमन्त्रीले बताए।

बुद्धको शान्ति सन्देश फैलाउने प्रतीकका रूपमा लुम्बिनीबाट बैठक थालिएको उल्लेख गर्दै उनले भने, ‘शान्ति र सुव्यवस्था कायम गर्दै निर्वाचनको सकारात्मक वातावरण बनाउन सातै प्रदेशमा सुरक्षा बैठक सञ्चालन हुनेछ।’

सम्बन्धित समाचार