बालेनको दृढ वचन कुलमानलाई ‘रास्वपा आए नआए, म तपाईंको साथमै छु’

1.8k Shares

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहबीच शनिबार महत्त्वपूर्ण राजनीतिक भेटवार्ता सम्पन्न भएको छ। तीनकुनेस्थित मेयर निवासमा भएको छलफलपछि कुलमानले सार्वजनिक गरेको एउटा तस्बिरले दुवैबीचको राजनीतिक नाता थप स्पष्ट बनाएको छ।

उज्यालो नेपाल पार्टी (उनेपा) निर्माणमा खटिएका कुलमान बेलुकी बालेनको घर पुगेर देशको समसामयिक राजनीतिक अवस्था, वैकल्पिक शक्ति निर्माण र आगामी रणनीतिबारे चर्चा गरेका थिए। उनेपाका नेता गणेश घिसिङका अनुसार भेटपछि कुलमानले पार्टी नेताहरूसँग विस्तृत ब्रिफिङ गरेका थिए।

आइतबार नै निर्वाचन आयोगमा दल दर्ता गर्ने अन्तिम म्याद पुगेको थियो। उनेपाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता वा सहकार्य गरेर जाने प्रयास गरे पनि संवाद सफल नभएपछि उनीहरूले स्वतन्त्र रूपमा दल दर्ता गरे।

यही पृष्ठभूमिमा कुलमानले मेयर बालेनसँगको तस्बिर सार्वजनिक गर्दै लेखे— “देश बनाउने अभियानमा हामी सँगै छौँ।”

निकटस्थका अनुसार मेयर शाहले कुलमानलाई स्पष्ट रूपमा समर्थन व्यक्त गर्दै भनेका थिए—
“तपाईंहरू अघि बढ्नुस्, रास्वपा आए–नआए मेरो साथ रहनेछ।”

बिगत एक महिनादेखि बालेन र कुलमानबीच लगातार भेटघाट र टेलिफोन संवाद हुँदै आएको छ। बालेनले नयाँ राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउनुपर्ने धारणा राख्दै रास्वपालाई समेत मिलाउन सुझाव दिएका थिए।

रास्वपासँग गठबन्धन खोज्ने प्रयासमा उनेपाले ‘एकीकृत दल’ मोडेल समेत प्रस्ताव गरे पनि अन्तिम निष्कर्ष ननिस्केपछि उनेपाले निरन्तरता दिने निर्णय गरेको हो।

यता रास्वपाले पनि कुलमानलाई पार्टीमा ल्याउन व्यापक छलफल चलाइरहेका छन्। सभापति रवि लामिछाने कारागारमा रहेका कारण अन्तिम निर्णयका लागि कुलमानलाई नख्खु जेलमै आएर भेट्न सन्देश पठाइएको स्रोतले जनाएको छ।

उनेपाका नेताहरूका अनुसार अब कुलमानले रविसँग अन्तिम वार्ता गर्ने योजना बनाएका छन्। १७ गतेको घोषणा सभा पछि भेट हुने सम्भावना छ।

सरकारी जिम्मेवारीका साथै दल दर्तापछि राजनीतिक गतिविधि बढेका मन्त्री कुलमान हरेक रात ९ बजेपछि पार्टी नेताहरूसँग नियमित ब्रिफिङ लिने गरेका छन्।

बालेनको खुलेर आएको समर्थनपछि कुलमान र उनेपामा उत्साह बढेको देखिन्छ। दुवै नेताबीचको निकटता भविष्यमुखी राजनीतिक समीकरणको संकेतका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार