नेप्से साताको दोस्रो दिन पनि ओरालो, कारोबार ४ अर्ब ६६ करोडमा सीमित

2k Shares

साताको दोस्रो व्यापार दिन सोमबार पनि नेप्से परिसूचकमा गिरावट कायम रह्यो। लगातार पाँच दिनदेखि घट्दै आएको सूचक सोमबार ३.०२ अंकले झर्दै २६०६.६७ विन्दुमा बन्द भयो।

सूचकसँगै कारोबार रकम पनि घटेको छ। आइतबार ५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोमबार ३३१ स्टकका ८३ हजार २७३ कारोबारमार्फत १ करोड १ लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदै कुल कारोबार ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये ५ उपसमूहमा सुधार देखिएको छ भने ८ उपसमूह ओरालो लागेका छन्। जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहमा सामान्य वृद्धि देखियो।

चार स्टकको मूल्य यस दिन सकारात्मक सर्किटमा पुगेको छ—अप्पर साङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डस्ट्रीज। इंगवा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशतले बढ्यो। बाँकी वृद्धि भएका स्टकमा वृद्धि दर साढे ४ प्रतिशतभन्दा कम रह्यो।
उता, सपोर्ट माइक्रोफाइनान्स ५.१६ प्रतिशतले घट्दै दिनकै सबैभन्दा बढी मुल्य घट्ने कम्पनी बन्यो।

उच्च कारोबार रकममा ङादी ग्रुप पावर शीर्षमा रह्यो। कम्पनीले एकै दिन ५५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार गर्‍यो। सागर डिस्टिलरीको करिब २४ करोड र पियोर इनर्जीको ९ करोडभन्दा बढीको कारोबार भएको छ।

सम्बन्धित समाचार