कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार: युवकको हत्या, ३ जना पक्रा

1.8k Shares

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–९ हनुमानघाट बस्ने २२ वर्षीय आशिष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भई हाल कीर्तिपुर ट्याङ्लाफाँट बस्दै आएका २१ वर्षीय रोशन बोहोरा तथा कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रबिन धामी रहेका छन् ।

उनीहरूले गुल्मीको धुर्कोट गाउँपालिका घर भई हाल कीर्तिपुरमा बस्दै आएका २४ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा बुधबार दिउँसो करिब साढे २ बजे घिमिरेमाथि आक्रमण भएको थियो ।

गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।

सम्बन्धित समाचार