विजयलाई समर्थन बढेपछि तमिलनाडुमा सरकार गठनको बाटो खुल्यो

2.2k Shares

एजेन्सी । भारतको तमिलनाडु राज्यमा सरकार गठनका लागि भइरहेको राजनीतिक अन्योल अन्ततः अन्त्यतर्फ पुगेको छ । विदुथलाई चिरुथाइगल काची (भिसिके) ले तामिलगा भेट्री कझागम (टिभिके) का प्रमुख तथा चर्चित अभिनेता जोसेफ विजयलाई समर्थन दिने औपचारिक घोषणा गरेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

पछिल्ला केही दिनदेखि विजयले बहुमत जुटाउन विभिन्न दलसँग छलफललाई तीव्र बनाएका थिए । प्रारम्भिक रूपमा आवश्यक संख्या नपुग्दा राज्यपालले उनलाई सरकार गठनका लागि औपचारिक निमन्त्रणा दिएका थिएनन् । तर शनिबार भिसिकेले समर्थन जनाएपछि सत्ता समीकरण स्पष्ट बनेको हो ।

तमिलनाडुको २३४ सदस्यीय विधानसभामा सरकार गठनका लागि ११८ सांसदको समर्थन आवश्यक पर्छ । टिभिकेले निर्वाचनमा १०८ सिट जितेको थियो । त्यसपछि कांग्रेस, भारतीय कम्युनिष्ट पार्टी (सिपिआई), भारतीय कम्युनिष्ट पार्टी–माक्र्सवादी (सिपिएम) र भिसिकेका सांसदहरूको समर्थन जोडिएपछि विजय पक्षको संख्या १२१ पुगेको बताइएको छ ।

यद्यपि विजय दुई निर्वाचन क्षेत्रबाट निर्वाचित भएकाले एक सिटको मत गणनामा प्रयोग नहुने हुँदा उनको पक्षमा प्रभावकारी समर्थन संख्या १२० रहने जनाइएको छ । त्यससँगै विजय नेतृत्वको नयाँ सरकार गठन लगभग निश्चित बनेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

भिसिके अध्यक्ष थोल थिरुमावलवनले टिभिकेका महासचिव आधव अर्जुनलाई समर्थनपत्र हस्तान्तरण गरिसकेको जानकारी दिएका छन् । अभिनेता जीवनबाट राजनीतिमा प्रवेश गरेका विजय अब तमिलनाडुको नेतृत्व सम्हाल्ने तयारीमा रहेका छन् ।

सम्बन्धित समाचार