सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९ सुनकाँडामा सिमेन्ट उद्योग स्थापना गर्ने प्रक्रिया फेरि अघि बढेको छ । करिब १५ अर्ब रुपैयाँ लगानीमा ‘सूर्यतारा सिमेन्ट उद्योग’ले उद्योग निर्माणका लागि पूर्वाधार विकासको काम सुरु गरेको हो । उद्योगका लागि आवश्यक चुनढुंगा सुर्खेतकै बराहताल गाउँपालिका–७ लखरपाटाबाट उत्खनन गरिने बताइएको छ ।
सरकारले उद्योगलाई ९५ हजार हेक्टर क्षेत्रबाट चुनढुंगा उत्खनन गर्न अनुमति दिइसकेको छ। लगानी बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले चौकुने क्षेत्रमा ४२ बिघा जग्गा खरिद गरी उद्योग निर्माण प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
यसअघि व्यवसायी अजेयराज सुमार्गी नेतृत्वको ‘मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज’ले २०६६ सालमै उद्योग सञ्चालनको अनुमति पाएको थियो । तर १६ वर्षसम्म पनि परियोजना कार्यान्वयनमा जान सकेको थिएन । पटक–पटक सम्झौता नवीकरण भए पनि उद्योग निर्माणको काम सुरु नभएको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका थिए ।
सूर्यतारा सिमेन्ट उद्योगका प्रतिनिधि बुद्धिराज रिमालका अनुसार अहिले उद्योग क्षेत्रसम्म पहुँचमार्ग निर्माण, प्रशासनिक भवन, प्लान्ट तथा मजदुर आवास निर्माणको काम भइरहेको छ । कम्पनीले आगामी १४ देखि १५ महिनाभित्र उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।
उद्योग सञ्चालनमा आएपछि दैनिक २४ सय टन सिमेन्ट उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ। उत्पादन मुख्य रूपमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आपूर्ति गरिनेछ । उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पाँचदेखि ६ हजार जनाले रोजगारी पाउने दाबी गरिएको छ ।
यद्यपि उद्योग सञ्चालनका लागि आवश्यक विद्युत्, पानी, सडक तथा दक्ष जनशक्तिको अभाव अझै चुनौतीका रूपमा रहेको कम्पनीले जनाएको छ । कर्णाली प्रदेश सरकारले खानी क्षेत्र र उद्योग जोड्ने १० किलोमिटर सडक निर्माण गरिरहेको छ भने नेपाल विद्युत् प्राधिकरणले उद्योगसम्म ३३ केभी प्रसारण लाइन विस्तारको काम अघि बढाएको छ ।