नीति तथा कार्यक्रमकै बीच संसदबाट बाहिरिए प्रधानमन्त्री, स्वास्थ्य असहजतापछि उत्पन्न भयो विवाद

1.8k Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह अचानक संसद् हलबाट बाहिरिएपछि राजनीतिक वृत्तमा चर्चा र विवाद सुरु भएको छ ।

प्रधानमन्त्री संसदबाट बाहिरिएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म विभिन्न टिकाटिप्पणी हुन थालेका हुन् । धेरैले आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठक छाडेर बाहिरिनुलाई अस्वाभाविक भन्दै प्रश्न उठाएका थिए ।

f2e9e959-e030-4134-bff0-42d896634b3e-1778513786.jpeg

घटनापछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। उनका अनुसार प्रधानमन्त्रीलाई कार्यक्रमकै क्रममा स्वास्थ्यमा असहजता महसुस भएको थियो । त्यसपछि केही समय विश्राम लिन प्रधानमन्त्री बाहिरिएको र अवस्था सामान्य भएपछि पुनः कार्यक्रममा सहभागी भएको उनले बताएका छन् ।

सल्लाहकार शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको समेत स्पष्ट पारेका छन् । तर, संसद्को महत्वपूर्ण बैठककै बीच प्रधानमन्त्री बाहिरिएपछि विपक्षी नेताहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारको गम्भीरता र जिम्मेवारीबारे प्रश्न उठाइरहेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा आर्थिक सुधार, पूर्वाधार विकास, ऊर्जा, कृषि, पर्यटन तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ ।

प्रधानमन्त्री संसदबाट बाहिरिएको घटनाले भने नीति तथा कार्यक्रमभन्दा बढी राजनीतिक चर्चा पाएको छ।

 
 
 
सम्बन्धित समाचार