मल खरिददेखि संवैधानिक परिषद् अध्यादेशसम्म, मन्त्रिपरिषद्का यस्ता भए निर्णय

1.4k Shares

काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कृषि, वातावरण, पूर्वाधार तथा संवैधानिक विषयसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले मुख्य रूपमा चार वटा महत्त्वपूर्ण निर्णय गरेको जानकारी दिएका छन् । निर्णयअनुसार भारतसँग ‘जी टू जी’ प्रक्रियामार्फत ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।

त्यस्तै, उद्योगहरूमा प्रयोग हुँदै आएका परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरबाट प्रतिस्थापन गर्न तथा वायु गुणस्तर मापन क्षमता अभिवृद्धि गर्न विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र ५ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरिएको छ ।

बैठकले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना पनि स्वीकृत गरेको छ । उक्त गुरुयोजनामा संसद् भवन परिसरमा प्रवेश व्यवस्थापनलगायतका विषय समेटिएको जनाइएको छ ।

यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलबाट पुनर्विचारका लागि फिर्ता भएको ‘संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश, २०८३’ पुनः जारी गर्न सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

सम्बन्धित समाचार